कैलालीको लम्कीचुहा २ भल्कामा रहेको लम्कीचुहा अस्पताललाई ३ थान अक्सिजन कन्सन्ट्रेटर सोमबार हस्तान्तरण गरिएको छ । कालिकोट जिल्ला सान्नी त्रिवेणी गाउँपालिका वडा नं १ मा जन्मेका युवा व्यापारी दिल बहादुर कठायत हाल चिनको गनञ्जाओमा व्यापार गर्दै आएका छन् । लम्कीचुहा नगरपालिका १ पुर्व लम्कीमा अहिले बसोबास रहेको छ । कठायतले समाजसेवामा आफ्नो कमाइको केही भाग लगाउदै आएका छन् । उक्त ३ थान अक्सिजन कन्सन्ट्रेटर नेपाली कांग्रेसका महासमिति सदस्य कमल बहादुर शाह , पुर्व महासमिति सदस्य घनश्याम जोशी र अनिता कठायतले लम्कीचुहा अस्पतालका प्रमुख गंगाराम उपाध्याय र सह -व्यवस्थापक महेश बिष्टलाई हस्तान्तरण गरेका हुन् । अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान क्षेत्रीय सभापति देवानन्द जैसी , प्रदेशसभा समानुपातिक उम्मेदवार सुशिला शाही , पुर्व महाधिवेशन प्रतिनिधि रंगा भट्टराई , नेपाली कांग्रेस लम्कीचुहाका सभापति रामबहादुर बिष्ट , लम्कीचुहा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष भक्त बहादुर चलाउने , कांग्रेस नेताहरू खडानन्द सापकोटा , ईश्वरीप्रसाद देवकोटा लगायत विभिन्न व्यक्तित्वहरूको सहभागीता रहेको थियो । १० थान अक्सिजन कन्सन्ट्रेटर पठाएका कठायतले आवश्यकताका आधारमा अन्य ठाउँमा वितरण गरिने बताइएको छ । कन्सन्ट्रेटर हस्तान्तरण पछि बोल्दै महासमिति सदस्य शाहले यस्तो महामारीको समयमा सहयोग गर्ने दिलबहादुर कठायत धन्यवादको पात्र भएको भन्दै सहयोगको लागि धन्यवाद दिएका हुन् ।



