युवा समाजसेवी करन साउदले यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय गरेका छन्। भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा तथा बूढीगण्डकी नदीमा आएको बाढीले गोरखा र आसपासका क्षेत्रमा पुर्याएको विनाशकारी क्षतिप्रति दुःख व्यक्त गर्दै उनले यस्तो निर्णय गरेका हुन्। बाढी तथा प्राकृतिक विपत्तिका कारण धेरै परिवार घरबारविहीन हुनुपरेको, कतिपयले आफ्ना आफन्त तथा प्रियजन गुमाउनुपरेको र हजारौँ नागरिकको जीवन कष्टकर बनेको घटनाले आफ्नो मन अत्यन्तै दुःखी भएको साउदले बताएका छन्।
‘जब देशको एउटा ठूलो हिस्सा पीडामा छ, हजारौँ परिवार आँसुमा डुबिरहेका छन्, तब मेरो मनले कसरी खुसी मनाउन सक्छ?’ भन्दै उनले यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय गरेको उल्लेख गरेका छन्। दसैँ खुसी, उमङ्ग, आपसी सद्भाव र पारिवारिक मिलनको पर्व भए पनि विपत्तिमा परेका नागरिकको पीडालाई आत्मसात् गर्दै आफूले यस वर्ष उत्सव नमनाउने निर्णय गरेको उनको भनाइ छ।
साउदले यस दुःखद घडीमा विपत्तिमा परेका सम्पूर्ण परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै बेपत्ता नागरिकको सकुशल उद्धार, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित परिवारले पुनः सामान्य जीवनमा फर्कने अवसर पाऊन् भन्ने कामना गरेका छन्।
उनको यस निर्णयले चाडपर्वको खुसीसँगै मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र विपत्तिमा परेका नागरिकप्रतिको ऐक्यबद्धताको महत्त्वलाई समेत उजागर गरेको छ। ‘देश रोइरहेको बेला मेरो मनले उत्सव मनाउन सकेन। मानवता नै सबैभन्दा ठूलो धर्म हो।’
— करन साउद



