कैलालीको जानकी गाउँपालिका–२ की १९ वर्षीया रोजिना बिष्ट नेपाली कांग्रेसको महासमिति सदस्यमा निर्विरोध निर्वाचित भएकी छन्। नेपाली कांग्रेसको असोज १५ गतेबाट भएको नियमित महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र नं. २ मा भएको निर्वाचन प्रक्रियाबाट बिष्ट महासमिति सदस्यमा निर्विरोध निर्वाचित भएकी हुन्। सानै उमेरमा पार्टीको महासमिति सदस्यको जिम्मेवारीमा पुगेकी बिष्ट विद्यार्थी राजनीतिमा समेत सक्रिय छन्।
उनी हाल काठमाडौंस्थित पद्मकन्या मल्टिपल क्याम्पसमा बीबीएम (BBM) छैटौँ सेमेस्टरमा अध्ययनरत छिन । नेपाल विद्यार्थी संघ (नेविसंघ) का तर्फबाट पद्मकन्या मल्टिपल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्यका रूपमा समेत कार्यरत छिन्।
विद्यार्थी राजनीतिसँगै पार्टीको जिम्मेवारीमा
बिष्टले आफ्नो शैक्षिक यात्रा लम्कीस्थित पायोनियर्स एकेडेमीबाट सुरु गर्दै वि.सं. २०७७ मा एसएलसी उत्तीर्ण गरेकी हुन्।
त्यसपछि उनले काठमाडौंको नयाँ बानेश्वरस्थित लिभरपुल इन्टरनेसनल एकेडेमीबाट कक्षा १२ को अध्ययन पूरा गरेकी थिइन्। हाल उनी व्यवस्थापन विषयमा उच्च शिक्षा हासिल गर्दै विद्यार्थी राजनीति र पार्टीको संगठनात्मक गतिविधिमा सक्रिय छिन्। १९ वर्षको उमेरमै महासमिति सदस्यमा निर्विरोध निर्वाचित हुनुले बिष्टको राजनीतिक यात्रामा नयाँ जिम्मेवारी थपिएको छ।
विद्यार्थी राजनीतिमा संलग्न रहँदै पार्टीको महत्वपूर्ण संरचनामा प्रतिनिधित्व गर्ने अवसर पाएकी उनले आगामी दिनमा संगठनात्मक गतिविधि तथा राजनीतिक क्षेत्रमा आफ्नो भूमिका विस्तार गर्ने अवसर प्राप्त गरेकी छन्। नेपाली कांग्रेसको महासमिति सदस्यमा निर्विरोध निर्वाचित भएपछि बिष्टको राजनीतिक यात्रालाई लिएर कैलालीको जानकी गाउँपालिका तथा क्षेत्र नं. २ मा चासो बढेको छ।
शैक्षिक योग्यता र विद्यार्थी राजनीतिमा सक्रियता सँगसँगै अघि बढाइरहेकी बिष्टको यो निर्विरोध चयन उनको राजनीतिक जीवनको महत्वपूर्ण उपलब्धिका रूपमा रहेको छ।



