कैलालीको गौरीगङ्गा नगरपालिकाले सामुदायिक कुकुरको सङ्ख्या व्यवस्थापन, रेबिज रोग नियन्त्रण तथा जनस्वास्थ्य र पशुपन्छी संरक्षणलाई लक्षित गर्दै सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण तथा रेबिज खोप कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिकाको पशु सेवा केन्द्र, चौमाला, कैलालीमा असोज २९ गते बिहीबार सञ्चालन गरिएको हो ।
नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार सञ्चालन गरिएको उक्त कार्यक्रमले सामुदायिक रूपमा रहेका कुकुरबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्ने उद्देश्य राखेको थियो। नगरपालिकाले सामुदायिक स्तरमा रहेका घरपालुवा तथा सामुदायिक कुकुरको व्यवस्थापनलाई प्रभावकारी बनाउँदै रेबिजजस्ता सङ्क्रामक रोगको जोखिम कम गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको हो। यसले कुकुरको अनियन्त्रित प्रजनन नियन्त्रण गर्नुका साथै मानव स्वास्थ्य र पशु संरक्षणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। करिब १ सय ५५ कुकुरलाई रेबिज तथा बन्ध्याकरण गरिएको बताइएको छ ।
कार्यक्रमअन्तर्गत टोल, बस्ती तथा समुदायमा रहेका कुकुरलाई लक्षित गरी बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउने कार्य गरिएको गौरीगङ्गा नगरपालिकाका पशु स्वास्थ्य अधिकृत भीम बहादुर रानाले बताएका छन्। यसका लागि नगरपालिकाले सम्बन्धित वडा कार्यालयमार्फत आवश्यक समन्वय र सहजीकरण गरेको थियो।
सामुदायिक कुकुरको उचित व्यवस्थापन, रेबिज रोग नियन्त्रण तथा जनस्वास्थ्य सुरक्षाका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ ।



