चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीसँग सरकारले पाँच बुँदे सहमति गरेको छ। मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा डा केसीपक्षसँग प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल गरी पाँच बुँदे सहमति गरेका हुन्। सरकारसँग सहमति भएसँगै डा केसीले यसअघि घोषणा गरेको अनसनको कार्यक्रम स्थगित गर्ने भएका छन्। प्रधानमन्त्री देउवा र डा केसीबीच सार्वजनिक पदहरूमा नियुक्त गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्ने, स्वास्थ्य राज्यमन्त्रीको विषयलाई उपयुक्त समयमा सम्बोधन गर्ने सहमति भएको छ। यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलन टुंग्याउने क्रममा भएको सम्झौता कार्यान्वयन गर्न तथा प्रतिष्ठानको विषयमा कार्यदलले तयार पारेको प्रतिवेदन कार्यान्वयनका लागि तत्काल सिनेट बैठक बोलाउने सहमति भएको छ। पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण गर्न बनेका कार्यदलहरूको प्रतिवेदनहरूलाई कानुनी रूप दिन सम्बन्धित मन्त्रीको नियुक्ति हुनसाथ प्रक्रिया अघि बढाउने, प्रत्येक प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज पुर्याउनका लागि निर्माण कार्यलाई तीव्रता दिने लगायतका सहमति भएको बताइएको छ ।



