जनता समाजवादी पार्टी, नेपाल(जसपा)ले पार्टीको नामसँग मिल्ने गरी नयाँ दल दर्ता गर्न आएको निवेदन रद्द गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव निर्वाचन आयोगमा पुगेर आफ्नो पार्टीसँग मिल्नेगरी नयाँ दल खोल्न दिइएको भन्दै निवेदन रद्द गर्न आग्रह गर्दै निवेदन दिएका हुन् । निर्वाचन आयोगले जसपाको आधिकारिकता यादवलाई दिएपछि पार्टीविहीन बनेको महन्थ ठाकुर र राजेन्द्र महतोले जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) नाम राखेर नयाँ दल दर्ताका लागि बुधबार निवेदन दिएका थिए । त्यो नाम आफ्नो पार्टीसँग मिलेको भन्दै यादवले निर्वाचन आयोगको कार्यालयमा पुगेर रद्द गरिदिन आग्रह गरेका हुन् । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जसपा अध्यक्ष यादवले आफ्नो पार्टीसँग मिल्नेगरी नाम राखेर नयाँ दल दर्ता नगर्न भन्दै आयोगमा निवेदन दिएको जानकारी दिएका छन् ।



