नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेमा क्रियाशील सदस्यता विवादको विषयलाई लिएर जिल्ला सभापतिहरुले धर्ना दिइरहेका छन्। शीर्ष नेताहरुबिच विवाद समाधान भएको दाबी गरिएपनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर जिल्ला सभापतिहरुले धर्ना दिइरहेका हुन्। त्यहाँ अहिले पनि कैलाली, बारा र रौतहटका कार्याकर्ता अनशनमा छन्। धर्ना कार्यक्रमलाई समर्थन जनाउँदै नेपाली कांग्रेसका युवा नेता गगन थापा पनि अहिले सानेपा पुगेका छन्। थापाले आफू कर्तव्य पूरा गर्न एक्यवद्धता जनाउँदै धर्नामा आएको बताए। 'नेपाली काँग्रेसको सदस्यता नलिएको व्यक्तिलाई पनि सदस्यता विवादबारे करा उठाउने हक हुन्छ। पार्टी सार्वजनिक संस्था हो। हामी महाधिवेशन गर्न सकिरहेका छैनौं। देशमा संविधानको शासन हुनुपर्छ भनेर लड्ने काँग्रेस आफू भित्र चाहिँ विधानलाई अक्षर अक्षर पालना गर्न सकेन'उनले भने। उनले विधानले नै नचिन्ने छानविन समितिले सदस्यता विवादबारे अध्ययन गरेको समेत दाबी गरे। सोमबार नेपाली काँग्रेसमा देखिएको क्रियाशील सदस्यता विवाद टुंगो लागेको बताइएको थियो। जस अनुसार प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई सदस्यता विवाद समाधान समितिको प्रतिवेदन बुझाइएको थियो।



