पेट्रोलियम पदार्थको मुल्य बढेपछि सत्तारुढ दलकै विद्यार्थी संगठन नेविसंघले मुल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेको छ। नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ति जारी गर्दै मृल्यवृद्धि फिर्ता लिन माग गरेका हुन्। ’कोरोना भाइरसको महामारी र त्यसको प्रत्यक्ष असरबाट प्रभावित उपभोक्तालाई थप पीडा दिने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि प्रति घोर भर्त्सना गर्दछु,’ तिमल्सिनाले विज्ञप्तिमार्फत उल्लेख गरेका छन्, ’अत्यावश्यकीय उपभोग्य बस्तु माथी पटकपटक गरिएको मुल्य वृद्धिले उपभोक्ताले चरम पीडा खेप्नुपरेको अवस्थामा सरकारलाई उक्त मुल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दछु।’ निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको हो। आन्तरिक तर्फको हवाइ उडानमा पनि निगमले २ रुपैयाँले बृद्धि गरेको छ। समायोजित मूल्य अनुसार पेट्रोल अब प्रतिलिटर १ सय ३०, डिजेल १सय १३ र आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य ८६ रुपैयाँ पुगेको छ। निगमले अन्तर्राष्ट्रिय उडान तर्फको हवाइ इन्धनमा प्रति किलोलिटर १६ अमेरिकी डलरले बृद्धि गरेको छ। नयाँ मूल्य अब ७ सय७० अमेरिकी डलर प्रतिकिलोलिटर कायम भएको छ। मूल्य समायोजनपछि पनि पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ४२ पैसा, डिजेलमा प्रतिलिटर २ रुपैयाँ ६४ पैसा र एलपी ग्याँसमा प्रति सिलिन्डर ४ सय २० रुपैयाँ ७५ पैसा घाटा रहेको निगमले जनाएको छ। यसअघि भएको मूल्य समायोजनपछि पेट्रोल १सय २८ रुपैयाँ र डिजेल १ सय ११ रुपैयाँ कायम थियो।



