जनवादी गायक जेबी टुहुरेको निधन भएको छ। बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार उनको निधन भएको हो। केही दिनअघि मतिष्कघात भएर टुहुरेलाई अस्पताल भर्ना गरिएको थियो। आफ्नै निवासमा लडेपछि उनलाई अस्पताल पुर्याइएको थियो। तर, भेन्टिलेटरमा राखेर उपचार गरिएका उनको अवस्थामा सुधार आउन सकेन। ७८ वर्षिय टुहरेको वास्तविक नाम जुठबहादुर खड्गी हो। २० वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय उनले सयौं संख्यामा जनवादी गीत गाएका छन्। उनको ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भइ’ बोलको गीत सर्वाधिक लोकप्रिय रहेको छ। संविधानसभा सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ। उनको आजै बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ। यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले टुहुरेको दुखद निधन भएको भन्दै दु:ख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा देउवाले समवेदना समेत व्यक्त गरेका छन् । पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनवादी गायक टुहुरेको निधनले जनता जगाउने गीत संगीत गाउने गायकको निधनले अतुलनीय क्षति भएको उल्लेख गरेका छन् । विभिन्न नेताहरूले समेत टुहुरेको निधनमा शोक व्यक्त गरेका छन् ।



