✍️चन्द्रप्रसाद खनाल / लम्की कोभिड महामारीको समयमा आफ्नो ज्यानको बाजी लगाएर अरुलाई बचाउनु भो , आफू बाच्नु भो त्यसैले त भेट भो भन्ने नाराका साथ लम्कीचुहा नगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मीहरूलाई बिहीबार सम्मान गरिएको छ । जसको कोही छैन उसको हामी छौ भन्ने अभियानले लम्कीचुहा अस्पतालमा एक कार्यक्रमबीच स्वास्थ्यकर्मीहरूलाई सम्मान गरिएक हो ।
स्वास्थ्यकर्मीहरू सम्मानित कार्यक्रममा जसको कोही छैन उसको हामी छौ अभियानका संयोजक नेत्र प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि समाजसेवी तथा नेकपा एमालेका नेता दलबहादुर रावल रहेका थिए ।
अतिथिमा लम्कीचुहा अस्पतालका डाक्टर नवीन कुमार बयर , डाक्टर प्रकाश तिमिल्सैना , डाक्टर नविन शर्मा रिमाल , स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसी , स्वास्थ्य शाखा सह संयोजक पदमा राठौर , लम्कीचुहा अस्पतालका प्रमुख गंगाराम उपाध्याय , जनस्वास्थ्य निरीक्षक तप्त भण्डारी , व्यवस्थापक जयन्द्र प्रसाद जैसी , सह- संयोजक महेश बिष्ट लगायत अस्पतालका स्वास्थ्यकर्मीहरू , वडा नं १ देखि १० सम्मका स्वास्थ्य इकाई प्रमुखहरू , विभिन्न संघसंस्थाका प्रतिनिधिहरू , राजनीतिक दलका प्रतिनिधिहरू , पत्रकारहरू सहभागीता रहेको थियो ।
कार्यक्रमको सञ्चालन जसको कोही छैन उसको हामी छौ अभियानका महासचिव हर्कबहादुर बिष्टले गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रावलले कोभिड १९ बाट विश्व आक्रान्त भइरहेको समयमा स्वास्थ्यकर्मीहरूले अग्रपंक्तिमा खटिएर जनताहरूको सेवा गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
जसको कोही छैन उसको हामी छौ अभियानका संयोजक भण्डारीले यो क्षेत्रका स्वास्थ्यकर्मीहरूले कोभिड १९ को समयमा दिनरात नभनी ज्यानको प्रभाह नगरी खटिने स्वास्थ्यकर्मीहरूको मनोबल उच्च बनाउन सम्मान गरेको बताउनु भयो । लम्कीचुहा अस्पतालका व्यवस्थापक जैसीले कोभिड १९ को समयमा खटिने स्वास्थ्यकर्मीहरूलाई सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
करिब ६० भन्दाबढी स्वास्थ्यकर्मीहरूलाई फुलमाला , खादाले सम्मान गरिएको थियो । कार्यक्रमलाई समाजसेवी दलबहादुर रावल र सामुदायिक वन महासंघ नेपाल कैलालीका अध्यक्ष कर्ण रावलले सहयोग गरेका थिए । जसको कोही छैन उसको हामी छौ अभियानले कोभिड महामारीको समयमा स्वास्थ्य अभियान , दुई स्थानमा घरबार बिहीनलाई घर बनाउन सहयोग गरेको , लम्कीचुहा ६ चैनपुरमा दलित र गैर दलितबीच संयुक्त रुपमा सहभोजको आयोजना गरेको , ७० वर्ष माथिका दलित आमाहरूलाई सम्मान गरेको र वादी समुदायको वृद्ध महिला देउकला वादीको प्रमुख अतिथ्यमा कार्यक्रम भएको , यो अभियानले आगामी दिनहरूमा सामाजिक कुरीति , जातीय विभेद , सामाजिक रुपमा पछाडी पारिएको वर्ग , समाजसेवामा उत्कृष्ट काम गरेका महानुभावलाई सम्मान गर्ने र निकट भविष्यमा नेपालका पहाडी जिल्लाहरूमा कार्यक्रम विस्तार गर्ने , सोनाहा जातीलाई लोपोन्मुख जातीको रुपमा सुचिकृत गर्न राज्यसँग र आगामी दिनहरूमा दुर्व्यसनीमा फसेका युवाहरूलाई सचेतना मुलक कार्यक्रम गर्ने योजना रहेको अभियानका महासचिव हर्कबहादुर बिष्टले जानकारी दिएका छन् ।



