कैलाली जिल्लाको भजनी नगरपालिकामा आज बिहीबार नगरपालिका संग समिक्षा बैठक सम्पन्न भएको छ । भजनी नगरपालिका र प्रयास नेपाल कैलालीको आयोजना तथा युनिसेफ नेपालको सहयोगमा भजनी नगरपालिकामा संचालित कोभिड-१९ बाढी पुर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत हालसम्म भएका गतिविधिका बारेमा जानकारी गराउने उदेश्यले समिक्षा बैठकको आयोजना गरिएको हो ।
भजनी नगरपालिकाकाका नगर प्रमुख शेरबहादुर चौधरीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा भजनी नगरपालिका वडा नम्बर ३ का अध्यक्ष बिक्रम चौधरी, वडा नम्बर ८ का वडा अध्यक्ष पंकज चौधरी, नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका उपसभापति बासुदेव बिनाडी, भजनी नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुख लगायतकाको सहभागिता रहेको प्रयास नेपाल कैलाली कोभिड-१९ बाढी पुर्व तयारी तथा प्रतिकार्य कार्यक्रमका संयोजक मनिराज पाण्डेले जानकारी दिनुभएको छ ।
युनिसेफको सहयोगमा प्रयास नेपाल कैलालीले गत वर्षदेखि भजनी नगरपालिकामा कोभिड १९ रोकथाम, नियन्त्रण तथा विपद पुर्व तयारीका लागि विभिन्न गतिविधि संचालन गर्दै आइरहेको छ । संस्थाले नगरपालिकाको क्षमता विकासका लागि विपद पुर्व तयारी तथा प्रतिकार्य योजना निर्माण , कोष संचालन कार्यविधि निर्माण , स्थानीय विपद व्यवस्थापन समिति अन्तर्गत खोज तथा उद्दार कार्यदललाई तालिम सञ्चालन, खोज तथा उद्दार सामग्री सहयोग , डुङ्गा मर्मत , उच्च धारा तथा आकस्मिक शौचालय निर्माण एवम् मर्मतका काममा भजनी नगरपालिकाको वडा नम्बर ३ र ८ मा सहयोग गर्दै आएको छ । संस्थाले भजनी नगरपालिकाको वडा नम्बर ३ र ८ मा विपदका बेला प्रभावित व्यक्ति र घरपरिवारलाई नगद रहत सहयोग हस्तान्तरणका लागि सर्वेक्षण फारम भरेर व्यक्तिगत तथा पारिवारिक विवरण , विपद जोखिमता लगायतका तथ्यांकहरु समेत संकलन गरिरहेको प्रयास नेपाल कैलालीका कार्यकारी निर्देशक लोकराज जोशीले जानकारी दिनुभएको छ ।



