नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन्। एमालेले कारबाही सिफारिस गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै अध्यक्ष ओलीले वारेसनामामार्फत बुधबार सर्वोच्चमा रिट निवेदन पेस गरेका हुन्। निवेदन दर्ता हुन भने बाँकी रहेको छ। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले सांसद कारबाही सिफारिसमा रोकेर सभामुखले अधिकारको पालना नगरेकाले उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दिएको बताए। रिटमा कारवाही गरेर १४ सांसदलाई मान्यता दिएर दल दर्ता गरेको भन्दै निर्वाचन आयोगलाई पनि विपक्षी बनाइएको छ। एमालेले १४ जनालाई सांसद पदमुक्त गर्न सर्वोच्चसँग अन्तरिम आदेश माग गरेको छ। एमालेले १४ सांसदलाई कारबाही गर्ने निर्णय गर्दै पदमुक्त गर्न १ भदौमा संसद सचिवालयमा सिफारिस गरेको थियो। तर सभामुख सापकोटाले कारबाही सिफारिस विचाराधीन राखेर नेकपा (एकीकृत समाजवादी) दल दर्तापछि १३ भदौमा १४ सांसदलाई कारबाही गर्न नपर्ने निर्णय गरेका थिए।



