नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) सँग एकताको कुनै सम्भावना नरहेको स्पष्ट गरेका छन् । बिहीबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले क्रान्तिकारी विचारको आधारमा निर्माण भएको आफ्नो पार्टी माओवादी केन्द्रसँग विलीन हुने भ्रम नछर्न पनि सचेत गराए । उनले भने, ‘हाम्रो पार्टी माओवादी केन्द्रमा मिल्छ वा विलिन हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्न चाहन्छु । हाम्रो पार्टी क्रान्तिकारी विचारको आधारमा निर्माण भएको छ । यो केपी ओलीको निरंकुशताविरुद्ध विद्रोह गरेर बनेको पार्टी हो । अध्यक्ष नेपालले भदौ २३ गते अघि मन्त्रिपरिषद विस्तार हुने सम्भावना नरहेको पनि बताए ।



