दिगो शान्तिका लागि उन्नत सम्बन्ध , साझा विकल्प पारितका लागि संयुक्त बैठक तथा खाट विधि लम्कीचुहा नगरपालिका वडा नं ९ , वनवर्षामा बुधबार सम्पन्न भएको छ ।
माकुरा समुहको आयोजना र लम्कीचुहा नगरपालिका वडा नं ९ को वडा कार्यालय र प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल कैलालीको सहयोगमा सामुदायिक भवनमा भएको हो ।
कार्यक्रममा सोनपुर , धनचैया र वनवर्षा टोलका समाजसेवी , सामाजिक अगुवा , युवा खेलाडीहरूको सहभागीता रहेको थियो ।
माकुरा समुहका अध्यक्ष एवम् भलमन्सा जन्जीर चौधरीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिकाकी उप-प्रमुख तथा न्यायिक समितिकी संयोजक टीका थापा रहनु भएको थियो । विशिष्ट अतिथिमा लम्कीचुहा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रामप्रसाद चौधरी रहेका थिए भने अतिथिहरूमा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल कैलालीका संयोजक नेत्रप्रसाद खनाल , लम्कीचुहा नगरपालिका वडा नं ९ की वडा सदस्य कृष्णीदेवी चौधरी , लम्कीचुहा नगरपालिका वडा नं ९ का मेलमिलाप संयोजक पर्शुराम गिरी , शिक्षक रामलखन चौधरी , भगत तथा समाजसेवी हरिदारी महतो लगायतका अतिथि रहेका थिए । प्रत्येक टोलबाट १/१ जनाले आ-आफ्नो भनाइ राखेका थिए । वनवर्षा टोल बाट खुसीराम चौधरी , धनचैया टोलबाट करण विक , सोनपुर टोलबाट रुपलाल चौधरीले भनाइ राखेका र आगामी दिनहरूमा एक आपसमा सद्भाव कायम गरेर खेलहरू खेल्ने बताएका थिए । कार्यक्रममा बोल्दै उप-प्रमुख तथा न्यायिक समितिकी संयोजक थापाले नगरपालिकाले मेलमिलापको काम गराउनु पर्नेमा माकुरा समुहको टिमले गरेकोमा धन्यवाद दिनुभयो । थापाले झैझगडा मनमुटाव सबै ठाउँमा हुने तर अन्तमा सबै भुलेर मिलेर जानुपर्ने बताउनुभयो ।
यस संस्थाको पहलमा यसभन्दा पहिले पनि गाउँ टोलमा भएका अन्य विवादहरू समेत सहजीकरण गरेर मिलाएको वडा अध्यक्ष चौधरीले बताएका छन् ।
कार्यक्रममा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र कैलालीका संयोजक खनालले यस संस्थाले जल , जमिन र जंगलका कारण समुदायमा भएका विभेदहरू,झैझगडाहरू , असम्झदारीहरूलाई द्वन्द्व रुपान्तरणका प्रक्रियाका माध्यमबाट समस्याको समाधान गरि समुदायमा शान्ति निर्माण गर्ने काम गरिरहेको बताउनुभयो ।
युवाहरूबीच खेलकुद मैदान फिल्ड कुन टोलको हुने भन्ने विषयमा १ वर्षदेखि ठुलो विवाद हुँदै आएको थियो । एक आपसमा ठुलो विवाद भइ प्रहरीसम्म मुद्दा पुगेर प्रहरीले समस्या समाधान गराई क्षतिपूर्ति दिलाएपनि समुदायबीच मनमुटाव कायमै रहेको अवस्थामा यस माकुरा समुहको पहलमा एक आपसमा सहमति कायम गराएर वडा र नगरपालिकाको न्यायिक समितिको सिफारिसमा द्वन्द्व रुपान्तरण प्रक्रिया अनुसार मेलमिलापको प्रक्रिया अगाडि बढाएको थियो । जस अनुसार बुधबार एक कार्यक्रमबीच साझा विकल्प पारितसँगै संयुक्त बैठकमा ३ वटै टोलका युवा खेलाडीबीच विकल्पका बुदाहरूमा सहमति समेत भएको छ ।

कार्यक्रमको सञ्चालन भोजराज मल्लले गरेका थिए । लामो समयसम्मको विवादका कारण खेलकुद मैदानको विषयमा आपसी द्वन्द्वका कारण समस्या सृजना भइरहेको थियो ।



