कैलालीमा बिहे भोजमा झडप हुँदा चार जना घाइते भएका छन्। कैलालीको चुरे गाउँपालिका वडा नम्बर ४ बालुवागडामा स्थानीय विनोद घर्तीको बिहे भोजमा सरिक भएका चार जना युवामाथि युवाहरुको अर्को समूहले शुक्रबार राति आक्रमण गरेको हो। बिहे भोजमा रहेका स्थानीय चक्र खत्री, महेन्द्र गुरुङ, कृष्ण विक र खगेन्द्र खत्तेडी घाइते भएका छन्। उनीहरुको निसर्ग अस्पतालमा उपचार भइरहेको छ। ‘हामी बिहेमा रमाइरहेका थियौं, अचानक हामीमाथि आक्रमण भयो,’ घाइते विकले भने, ‘आक्रमण गर्नेहरुलाई हामी चिन्दैनौ। ’ ५ वटा मोटरसाइकलमा आएका १२ जनाले आक्रमण गरेको घाइतेहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले ५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको बताउदै कुटपिटमा संग्लनको खोजी भइरहेको बताए। प्रहरीका अनुसार बिहेमा सहभागी दुई समूहबीच विवाद भएपछि झडप भएको हो।



