प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली नदीको बाढीबाट प्रभावित नागरिकका लागि तत्काल राहात कार्यक्रम सञ्चालन गर्ने र हरेक वर्ष आउने बाढीबाट मुक्ति पाउन दूरगामी महत्वको दीर्घकालीन कार्यक्रम बनाउने बताउनुभएको छ ।
बाढीप्रभावित क्षेत्र निरीक्षणका क्रममा शुक्रबार बाढीप्रभावित क्षेत्र कैलालीको जानकी गाउँपालिका ९ खैरीफाटा पुग्नु भएका प्रधानमन्त्री देउवाले यसपटकको बाढीले नोक्सानी भएको क्षेत्रमध्ये जानकी गाउँपालिका भएको बताउनुभयो । अर्थमन्त्री जनार्दन शर्मा र पर्यटन मन्त्री प्रेम आले सहित प्रत्यक्ष रुपमा प्रधानमन्त्री देउवा जानकी गाउँपालिका पुग्नु भएको हो । प्रधानमन्त्री देउवा समक्ष जानकी गाउँपालिकाका अध्यक्ष प्रदिप कुमार चौधरीले बाढीबाट क्षति भएको बारे जानकारी गराउनु भएको थियो ।



