कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा शहरी विपद् तथा भुकम्पीय पूर्वतयारी परियोजना शुभारम्भ भएको छ। युरोपेली युनियनको आर्थिक सहयोगमा युएनडीपी, युनिसेफ र युएन ओमनको साझेदारीमा दुई वर्षीय परियोजना सुरु गरिएको हो। धनगढी उपमहानगरपालिका परिसरमा आयोजित कार्यक्रममा नगर स्तरीय र वडा स्तरीय (वडा नं १ र २) छलफल शुरु गरिएको थियो। विपद्को जोखिमलाई बुझन र त्यसलाई समाधान गर्नको लागि प्रदेश र स्थानीय तहलाई सहयोग गरेर संस्थागत संरचना र जोखिम शासकीय प्रणालीलाई सुदृढीकरण गर्ने हेतुले सो परियोजना शुरु गरिएको युएनडीपीका परियोजना संयोजक सुशान्त शर्माले बताए। जिल्लाको मुख्य शहरी क्षेत्रमा भूकम्प र आगलागीको अति जोखिम भएकोले यस परियोजनाले जोखिम न्यूनीकरणको लागि पूर्व तयारी र प्रतिकार्य विभिन्न क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने छ। परियोजनाले कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा अहिले काम सुरुवात गरेको छ।



