नेपाली कांग्रेसका युवा नेता पुष्प कुमार शाहीले नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुदूरपश्चिम प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। गृह जिल्ला डोटीमा पत्रकार सम्मेलन गर्दै नेता शाहीले सुदूरपश्चिम प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका शाहीले सुदृढ र सशक्त कांग्रेस बनाउने उदेश्यका साथ आफ्नो उम्मेदवारी रहेको बताएका हुन्। 'अब पार्टीमा युवा जोसको पनि खाँचो छ। लामो समय विद्यार्थी राजनीतिमा रहेर काम गरिसकेकाले अब पार्टीको मूल नेतृत्वमा आएरै जनताको सेवा गर्नुपर्छ भन्ने भावनाले मैले उम्मेदवारी घोषणा गरेको हुँ', उनले सधै आफू जनताको सेवामा नै समर्पित हुने बताएका छन्। कांग्रेसमा गुटगत राजनीतिको अन्त्य हुनुपर्ने बताउँदै सधैं आफू त्यसको पक्षमा रहने उनले बताए। नेपाली कांग्रेसको प्रदेश महाधिवेशन मंसिर १६ देखि १७ गतेसम्म हुने भएको छ।



