नेपाली कांग्रेसको युवा नेता , नेपाल तरुण दलका पूर्व उपाध्यक्ष समेत रहेका युवा नेता कमल बहादुर शाहले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेद्धारी घोषणा गरेका छन् । कैलालीको लम्कीमा सोमबार पत्रकार सम्मेलन गर्दै नेता शाहले केन्द्रीय सदस्य पदका लागि उम्मेदारी घोषणा गरेका हुन् । ''नीति र नेतृत्वमा हाम्रो प्रवेश, शसक्त कांग्रेस समृद्ध देश'' भन्ने मूल नाराका साथ आफुले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदारी दिने शाहले घोषणा गरेका हुन् । आफुले विद्यार्थी कालखण्डदेखि नै नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलको विभिन्न विभागमा रहेर काम गरिसकेको र ९ औं महाधिवेशनदेखि हालसम्म महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य भएर काम गरि रहेको जानकारी दिदै नेता शाहले केन्द्रीय सदस्य बनाउन सबैले सहयोग गरिदिन देशभरका नेता तथा प्रतिनिधिहरूसँगआग्रह गरे । उनले आफु केन्द्रीय समितिमा समेटिए नेपाली कांग्रेसलाई थप शसक्त बनाउन प्रभावकारी भुमिका खेल्न सहज हुने समेत बताए । उनले देशलाई सही दिशामा दोर्याउन आगामी निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्व आवश्यक भएको र कांग्रेसलाई बलियो र जनमुखी बनाउन नेतृत्वमा युवाको उपस्थितिसँगै समावेशी आवश्यक रहेको बताए । कांग्रेसलाई जनमुखी , संगठित र व्यवस्थित बनाउने आफ्नो मुख्य लक्ष्य रहेको बताउदै नेता शाहले आफुलाई विजयी बनाउन सबैले सहयोग गरिदिन आग्रह गरे । विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय नेता शाह २०४४ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध भई देशमा बहुदलीय व्यवस्थाको लागि संघर्षमा होमिएका थिए । उनले २०४६ साल देखि २०५२ साल सम्म नेपाल विद्यार्थी संघको क्याम्पस इकाई समिति सदस्य, जिल्ला कार्यसमिति सदस्य र महाधिवेशन प्रतिनिधि भएर काम गरेका छन्। नेता शाहले २०५४ साल देखि २०६८ साल सम्म नेपाल तरुणदलको केन्द्रीय खेलकुद विभाग सदस्य, केन्द्रीय कोषाध्यक्ष, केन्द्रीय सचिव र केन्द्रीय उपाध्यक्ष पदमा रहि विभिन्न जिम्मेवारी निर्वाह गरेका छन् । उनले २०५३ साल देखि हालसम्म पार्टीको ९ औं, १० औं, ११ औं, १२ औं र १३ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको भुमिकामा रहि विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएका छन् । संविधान सभाको दोस्रो निर्वाचन २०७० सालमा कैलाली क्षेत्र नम्बर २ बाट सभासद्को प्रत्यक्ष तर्फको उम्मेद्वार समेत रहेका शाह २०४६ साल र २०६२÷०६३ को जनआन्दोलमा पटक–पटक गरि ४ महिना जेलजिवन (राजनीतिक बन्दी) बिताएका छन् । २०५२ साल देखि २०६२ साल सम्म चलेको शसस्त्र आन्दोलनका समयमा समेत नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर १ र २ लाई क्रियाशिल र जिवन्त राख्न, संगठन बचाउन आफ्नो ज्यानको समेत प्रवाह नगरी सक्रिय रहेका उनी जनतामाझ समेत जनप्रिय नेताका रुपमा चिनिन्छन । उनी कोरोना संकटकाल देखि बाढी र डुवानको समयमा समेत जनताको चुलो ननिभोस भनी राहत तथा उद्दारको लागि घरदैलो पुगेर जनताको सुखदुःखमा मलमपट्टी लगाउने काममा निरन्तर खटिका थिए ।



