कैलालीको लम्कीचुहा नगरपालिकाको वडा नम्बर १ लम्कीमा सामुदायिक विद्यालयका शिक्षकहरुका लागि आयोजित ४ दिने सुचना तथा सञ्चार प्रविधि एप्लिकेसन सम्बन्धि पुनर्ताजगी तालिम सम्पन्न भएको छ । सेवक नेपाल कैलालीको आयोजना तथा गुड नेवर्स इन्टरनेशनल नेपाल कैलालीको आर्थिक तथा प्राविधिक सहयोगमा तालिम सम्पन्न भएको हो ।
विद्यालयमा अध्यापन कार्यमा सुचना तथा सञ्चार प्रविधिको प्रयोग सम्बन्धि एप्लिकेसनका बारेमा जानकारी दिन र स्मार्ट कक्षा संचालन गर्न सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको तालिममा लम्कीचुहा नगरपालिका तथा जानकी र बर्दगोरिया गाउँपालिकाका ८ विद्यालयका २४ शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो । तालिम समापन कार्यक्रममा गुड नेवर्स इन्टरनेशनल नेपाल कैलालीका संयोजक तेज शर्मा, सेवक नेपाल कैलाली शिक्षा विकास अधिकृत प्रेमकुमार चौधरी, सहभागीका तर्फबाट बालकल्याण मावि भुरुवाका सहायक प्रधानाध्यापक रंगप्रसाद तिमिल्सैनाले मन्तव्य राख्नु भएको थियो । बुधबारदेखि शुरु भएको तालिमको सहजीकरण गुड नेवर्स इन्टरनेशनल नेपाल कैलालीका दीपक पौडेलले गर्नुभएको थियो । तालिममा शिक्षण सिकाइ क्रियाकलापमा सुचना प्रविधिको प्रयोग गरि विभिन्न सूचना प्रविधि सम्बन्धि टुल्सहरुको प्रयोग कसरी गर्ने लगायतक विषयमा छलफल गरिएको थियो ।



