काठमाडौंमा जारी नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी काँग्रेस नेतृ सीता कुमारी रानाले सम्पुर्ण महाअधिवेशनमा सहभागी प्रतिनिधिहरुलाइ अपिल सार्वजनिक गरेकी छिन् । आदिवासी/जनजाति महिलातर्फ केन्द्रीय सदस्य पदको उम्मेद्वारी दिएसँगै रानाले अपिल सार्वजनिक गरेकी हुन् । महाधिवेशन प्रतिनिधि एवं नेपाल महिला संघ दैलेखको अध्यक्ष समेत रहेकी रानाले सावर्जनिक गरेको अपिलमा भनिएको छ ‘नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा ‘सांगठनिक सुदृढिकरण, समावेशीताको सशक्तिकरण र राजनीतिमा सबैका लागि अवसर’ भन्ने मूल मर्मलाई आत्मसात गर्दै आदिवासी/जनजाति महिलातर्फ मैंले नेपाली काँग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेद्वारी प्रस्तुत गरेकी छु, अब नेपाली काँग्रेसलाई गुट उपगुटको पार्टी होइन, विविधतायुक्त बहुलवादी नेपाली समाजको प्रतिविम्ब झल्किने उदाहरणीय राजनीतिक दल बनाउनुपर्छ, यहाँहरुको अमूल्य मत नेपाली काँग्रेसको रुपान्तरणको पक्षमा प्राप्त हुने गहिरो अपेक्षा र विनम्र अनुरोध अनुरोध गर्नु भएको छ। काँग्रेस केन्द्रीय सदस्य पदको उम्मेदवार सीता कुमारी रानाको अपिल : आदरणीय महाधिवेशन प्रतिनिधि मित्रहरु, नेपालको सबैभन्दा ठुलो र लोकतान्त्रिक राजनीतिक दल नेपाली काँग्रेस यतिबेला आफ्नो चौधौं महाधिवेशनको मैदानमा उभिएको छ । नेपाली काँग्रेस जस्तो ऐतिहासिक र गौरवशाली पार्टीको सदस्यको हैसियतमा महाधिवेशनमा सहभागी हुँदै गर्दा हाम्रा सामु केही निश्चित दायित्व खडा भएका छन । नेपाली काँग्रेस तमाम नेपाली सपूतहरुको बलिदानीको जगमा जन्मिएको राजनीतिक पार्टी हो । स्थापना कालदेखि सात दशक लामो यात्रा पार गरी यस घडीसम्म आईपुग्दा हामीलाई दिशाबोध गर्ने सिद्धान्त र आदर्शलाई एक पटक गभ्भीर भएर स्मरण गर्न जरुरी छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादका उच्च र अमूल्य आदर्शबाट निर्देशित यो पार्टी वास्तवमा नेपाली जनताको आस्थाको धरोहर हो । नोपली काँग्रेस नेपालका सबै समुदाय, जातजाति र वर्गको साझा पार्टी हो । यस दलको सिद्धान्तले नै समावेशीतालाई आत्मसात गरेको छ । नेपाली काँग्रेसका संस्थापक नेता जननायक वी.पी. कोइरालाले नेपालमा समावेशी राजनीतिको जग बसाउनु भएको हो । नेपालको पछिल्लो राजनीतिक परिवर्तनले समावेशी राजनीतिलाई अझै फरकिलो र अनिवार्य बनाएको छ । परिवर्तित राजनीतिक यात्रामा हामी थप गम्भीर र संवेदनशील भएर अगाडि बढ्नु अपरिहार्य देखिन्छ । सिद्धान्त र कार्यनीतिमा एकरुपता भएन भने राजनीतिले लक्ष्य प्राप्त गर्न कठिन हुन्छ । नेपालमा अझै पनि राज्यको दृष्टि अपेक्षित ढंगले नपुगेका समुदाय र क्षेत्र छन् । नेपाली काँग्रेसको ध्यान त्यतापट्टि पुग्न जरुरी देखिन्छ । (कर्णाली, दलित, महिला, जनजाति र मधेशी) को अवधारणालाई थप फराकिलो बनाउँदै अल्पसंख्यक र सीमान्तकृत वर्ग र समुदायलाई समेत पार्टीको मूल प्रवाहमा समेट्न आवश्यक छ । नेपाली काँग्रेस सबै नेपालीको बिश्वासको साझा चौतारी बन्न सक्नु पर्छ । हिजो हामीले शाही अधिनायकवादका विरुद्धमा संघर्ष ग¥यौं । हाम्रो संघर्ष सफलतामा परिणत भएपश्चात् मुख्य राजनीतिक शक्तिको नाताले सिंगो मुलुकको आशाको नजर नेपाली काँग्रेसतिर तेर्सिएको छ । नेपाली समाज नै विविधतायुक्त छ । विविधतायुक्त समाजका आकांक्षा पनि स्वभावतः फरक–फरक हुन्छन । तर तिनको सही सम्बोधन गर्ने गरी हाम्रो पार्टीको नीति र संयन्त्र निर्माण गर्नु हाम्रो कर्तव्य हो । यसका लागि राजनीतिमा सबैका लागि अवसर उपलब्ध हुनु अपरिहार्य छ । एउटै व्यक्तिले पटक–पटक अवसर पाइरहने तर कुनै व्यक्ति, वर्ग, र समुदायले अअवसरवाट सदा वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य यसै महाधिवेशनवाट हुनुपर्छ । संविधान कार्यान्वयनको मूल दायित्व बोकेको यो पार्टीले सबैलाई समेट्न सके मात्र आफ्नो लक्ष्य पुरा गर्न सक्छ । कर्णाली, दलित, महिला, आदिवासी, जनजाति, मधेशी, मुस्लिम र अल्पसंख्यकको भावनालाई काँग्रेसले थप गम्भीरतापूवर्क आत्मसात गनुपर्ने छ । यसै परिप्रेक्ष्यमा जारी १४ औं महाधिवेशनमा “ सांगठनिक सुदृढिकरण, समावेशीताको सशक्तिकरण र राजनीतिमा सबैका लागि अवसर” भन्ने मूल मर्मलाई आत्मसात गर्दै आदिवासी/जनजाति महिलातर्फ मैंले नेपाली काँग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेद्वारी प्रस्तुत गरेकी छु । अब नेपाली काँग्रेसलाई गुट उपगुटको पार्टी होइन, विविधतायुक्त बहुलवादी नेपाली समाजको प्रतिविम्ब झल्किने उदाहरणीय राजनीतिक दल बनाउनुपर्छ । यहाँहरुको अमूल्य मत नेपाली काँग्रेसको रुपान्तरणको पक्षका लागि हार्दिक अपिल गर्नु भएको छ।



