कैलालीकाे लम्कीचुहा नगरपालिका- १ का भूपेन्द्र बडुवालकाे हत्यामा संलग्न भएकाे आराेपमा पक्राउ परेका ३ जनालाई धराैटीमा रिहा गरेकाे भन्दै आफन्त र परिवारजनले कैलाली जिल्ला अदालत बाहिर प्रदर्शन गरेका छन् । धनगढीको पार्क मोडबाट नारा लगाएर पीडित पक्षले साेमबार धनगढीमा प्रर्दशनसहित जिल्ला अदालत अगाडि धर्ना दिएका हुन् । मान्छे मार्न पाइदैन, न्यायलय बिक्न बन्द गर, फरार अभियुक्तलाई इन्काउन्टर दे , सरकार तेरो पाराले दुख पायो साराले लगायतका नारा लगायतका हुन् । भुपेन्द्रको अस्तु सहित भुपेन्द्रका बुवा आमा र आफन्त जिल्ला अदालत कैलाली पुगेका हुन् । उनीहरूले भुपेन्द्रको हत्यामा संग्लन ३ जनालाई छोडिएको भन्दै प्रदर्शन गरेका हुन् । गत कार्तिक २३ गते टीकापुरमा धारिलाे हतियार प्रहारबाट लम्कीचुहा १ का भूपेन्द्रको हत्या भएको थियो । हत्या आराेपमा प्रहरीले १२ जनालाई पक्राउ गरेकाे थियाे भने अन्य ९ जना अझै फरार छन् । उक्त मुद्दामा थुनछेक बहसपछि कैलाली जिल्ला अदालतले ९ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएकाे थियाे भने ३ जना धराैटीमा छुटेका थिए ।



