कैलालीको जानकी गाउँपालिका वडा नं ९ का २५ वर्षीय अर्जुन दासको घाँटी रेटेर हत्या गरि फरार रहेका हत्यारालाई तत्काल पक्राउ गर्न माग गर्दै कैलालीको टीकापुरमा बुधबार विरोध प्रदर्शन गरिएको छ । अर्जुन दासका आफन्त , अधिकारकर्मी लगायतको सहभागीता रहेको थियो । मान्छे मार्न पाइदैन , हत्यारालाई तत्काल पक्राउ गर , हत्या हिंसा बलात्कार बन्द गर लगायतका प्ले कार्ड लेखिएका नारा सहित प्रदर्शन गरिएको हो । विरोध प्रदर्शन पछि कोणसभा समेत गरिएको थियो । कोणसभामा बोल्ने वक्ताहरूले पटकपटक समाजमा जघन्य अपराध भइरहेकाले यसको अन्त्यका लागि सबै एकजुट हुनुपर्ने बताए । पछिल्लो समयमा लम्की , टिकापुर र जानकी गाउँपालिका क्षेत्रमा हत्या हिंसा , लागू औषध प्रयोगकर्ता बढेकाले यसको नियन्त्रणका लागि सरकार , प्रशासन र सुरक्षा निकायले विशेष ध्यान दिनुपर्ने बताएका थिए । यहीँ पौष २ गते कैलालीको जानकी गाउँपालिका वडा नं ९ को अमरावती सामुदायिक वनको जंगलमा अर्जुन दासको घाँटी रेटेर हत्या भएको थियो ।



