दिगो शान्तिका लागि उन्नत सम्बन्ध विकल्प पारितका लागि संयुक्त बैठक घोडाघोडी नगरपालिका - २ थुम्कीमा सोमबार सम्पन्न भएको छ । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल कैलालीको सहयोग र घोडाघोडी नगरपालिका वडा नं २ को सहयोग र माकुरा समुहको आयोजनामा भएको हो । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले जल , जंगल जमिनका कारण समुदायमा रहेका विवाद तथा द्वन्द्वहरूलाई प्राकृतिक स्रोत द्वन्द्व प्रक्रिया अनुसार रुपान्तरण गरि समुदायमा शान्ति निर्माण गर्ने कार्य गरिरहेको छ । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं २ थुम्कीमा रहेको बडिमालिका सामुदायिक वन उपभोक्ता समुह र शिव कालिका सामुदायिक वन उपभोक्ता समुहबीचको सिमाना विवाद २०७८ साल साउन २२ गते स्थानीय सरोकारवालासँग पुर्व तयारी गरी रुपान्तरण प्रक्रियाको थालनी गरेको थियोे । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले गाउँ घर , संघसंस्थामा उत्पन्न विवाद , समस्याहरूलाई समाधान गर्दै आएको छ । उक्त वनका उपभोक्ताहरूले घास , खर , दाउरा र काठ संकलन गर्दै सिमानामा प्रहरी लिएर राखेर संकलन गर्नुपर्ने परिस्थिति रहेको थियो । थुम्कीका स्थानीयबासी , दुईटै सामुदायिक वनका उपभोक्ता तथा पदाधिकारी , स्थानीय सरोकारवाला , स्थानीय जनप्रतिनिधि , न्यायिक समिति , समाजसेवी , बुद्धिजीवी , वन सरोकारवाला राखेर गाउँमै विवाद समाधान गर्ने प्रयास गरेपनि उक्त प्रयास सफल हुन सकेको थिएन् । उक्त समस्याका कारण विवाद उत्पन्न हुन्छ विवाद भएपछि द्वन्द्व उत्पन्न हुन्छ भन्ने डरले जंगलको सिमानामा प्रहरी समेत राखिएको स्थानीयले बताएका छन् । समस्या समाधानका लागि प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल कैलालीका संयोजक नेत्र प्रसाद खनाल र प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रका कर्मचारी र थुम्कीका स्थानीयबासी , दुईटै सामुदायिक वनका उपभोक्ता तथा पदाधिकारी , स्थानीय सरोकारवाला , स्थानीय जनप्रतिनिधि , न्यायिक समिति , समाजसेवी , बुद्धिजीवी , वन सरोकारवाला निकायसँग समन्वय गरि लामो समयदेखिको समस्या समाधान गरिएको हो । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको मेरुदण्डको रुपमा रहेको माकुरा समुह गठन गरि ३ दिनको क्षमता विकास तथा नेतृत्व हस्तान्तरण अभिवृद्धि गरी द्वन्द्व रुपान्तरणमा महत्त्वपूर्ण भुमिका खेलेको थियो । विवाद समाधानका भएपछि दुवै सामुदायिक वनका अध्यक्ष तथा समाजसेवीहरूले आगामी दिनहरूमा कुनै विवाद नगर्ने , सिमाना विवाद समाधान भइसकेकाले आगामी दिनहरूमा शान्ति कायम गरि मिलेर वन संरक्षण गर्ने , वनलाई हराभरा बनाउने प्रतिबद्धता जनाएका छन् । साथै दुईटै सामुदायिक वनको सिमाना छुट्याइएकाले अब आगामी दिनहरूमा थप सद्भाव कायम गर्न भोजको समेत आयोजना गर्ने बताएका छन् ।



