नेपाली काङ्ग्रेस कैलालीको सभापति चयनका क्रममा दोस्रो चरणको मतदानमा नेता शेखर कोइराला समूहले सभापतिका उम्मेदवार नारायणदत्त भट्टलाई समर्थन गरेको छ । बुधबार लम्कीमा पत्रकार सम्मेलनको आयोजना गरि नेपाली कांग्रेस इतर पक्षले सभापतिमा भट्टलाई मतदान गर्ने निर्णय गरेको हो ।
पत्रकार सम्मेलनमा जानकारी गराउदै कांग्रेस नेता कमल बहादुर शाहले इतर पक्षको आधिकारिक निर्णय भएकोेले सबैले भट्टलाई मतदान गर्न आग्रह गर्नुभयो । सभापतिका उम्मेदवार भट्ट र शाहबीच सात बुदे सहमति समेत भएको छ । संस्थापन पक्ष र इतर पक्ष दोस्रो चरणमा एक भएर गएमा जित निश्चितजस्तै भएको इतर पक्षका नेता देवानन्द जैसीले जानकारी दिए ।
पत्रकार सम्मेलनमा केन्द्रीय सदस्यहरू , नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो । गत १५ गते भएको निर्वाचनमा सभापति पदका उम्मेदवारहरू बम, नारायणदत्त भट्ट र रामबहादुर कलेल कसैले पनि विधानको व्यवस्थाअनुरुप ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि (बिहीबार) दोस्रो चरणको मतदान हुदैछ । भट्टलाई संस्थापन (देउवा) पक्षको उम्मेदवारका रूपमा प्रस्तुत गरिएको छ । बम पनि संस्थापन पक्षकै हुन् । कलेल शेखर समूहबाट उम्मेदवार रहेका थिए । पहिलो चरणको मतदानमा बमले एक हजार एक सय ६९ मतसहित पहिलो स्थान प्राप्त गरेका थिए । भट्ट एक हजार ६४ मतसहित दोस्रो र कलेल एक सय ९७ मतसहित तेस्रो स्थानमा रहेका थिए । दोस्रो चरणको निर्वाचनमा बम र भट्टबीच प्रतिस्पर्धा हुदैछ ।



