असहायका लागि सहयोगी हातहरु नेपालद्वारा बर्दगोरिया गाउँपालिका वडा नम्बर २ बौनियामा रहेको सहारा घरमा रहेका बेसहाराहरुलाई स्मृति दिवसका अवसरमा आज बुधबार भोजन सेवा प्रदान गरिएको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर १ लम्की राजीपुर बस्ने हिर्दयराज सन्ज्यालले आफ्ना स्वर्गीय पिता मनिराम सन्ज्यालको स्मृति दिवसको अवसरमा १ छाकको भोजन सेवा गराउनु भएको हो ।
विक्रम सम्वत २०११ सालमा अछाममा जन्मिनुभएका स्वर्गीय मनिराम सन्ज्यालको २०५८ साल भाद्र ८ गते आजकै दिन अल्पायुमै निधन भएको थियो । स्वर्गीय सन्ज्याल को स्मृति दिवसको अवसरमा आज बुधबार साहारा घरमा रहेका बेसहारा आमाबुबा दाजुभाइ तथा दिदिबहिनीहरुलाई भोजन सेवा प्रदान गर्नुका साथै स्वर्गीय आत्माको शान्तिको लागि दीप प्रज्वलन समेत गरिएको थियो ।
कार्यक्रममा स्वर्गीय सन्ज्यालकी धर्मपत्नी हिउकला सन्ज्याल, छोरा हिर्दयराज सन्ज्याल, साला रंगप्रसाद तिमिल्सैना, भान्जे भाइ नवराज ढकाल, नातिनी लिलम सन्ज्याल लगायतकाको उपस्थिति रहेको थियो । उक्त अवसरमा सहारा घरमा रहेका करिब एकसय जनालाई भोजन गराइएको थियो ।




