डेंगु रोग बढेसंगै कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकाका विभिन्न स्थानहरूमा डेंगु रोकथाम सम्बन्धि प्रचार प्रसार तथा लामखुट्टे बस्ने स्थानमा औषधी छर्ने काम संचालन गरिएको छ । आइ.एफ. आर.सी र बृटिश रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाद्वारा संचालित डेंगु रोकथाम र नियन्त्रणका लागि पुर्व तयारी एवं प्रतिकार्य योजना कार्यक्रमको आयोजनामा र नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाको समन्वयमा लम्कीचुहा नगरपालिकाका विभिन्न स्थानमा प्रचार प्रसार एवं औषधी छर्ने कार्य संचालन गरिएको हो ।
कार्यक्रम अन्तर्गत आज बिहीबार लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवामा मनकामना स्वास्थ्य आमा समुह भुरुवाको व्यवस्थापकीय सहयोगमा डेंगु रोकथाम सम्बन्धि प्रचार प्रसार तथा लामखुट्टे बस्ने स्थानमा औषधी छर्ने काम सम्पन्न भएको नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा सभापति रंगप्रसाद तिमिल्सैनाले जानकारी दिनुभएको छ । उक्त कार्यक्रममा रेडक्रसकर्मी देवानन्द न्यौपाने , मनकामना स्वास्थ्य आमा समुहका उपाध्यक्ष गिता गडतोला थापा, शिक्षिका निर्मला तिमिल्सैना, महिला स्वास्थ्य स्वयंसेवक हरिकला देवकोटा , रेडक्रस स्वयंसेवक जुगराम चौधरी, धर्मा खनाल लगायतकाको सहभागिता रहेको थियो । नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा मार्फत कैलाली जिल्लामा रहेका विभिन्न उपशाखाहरुको समन्वयमा डेंगु रोकथाम तथा नियन्त्रण सम्बन्धि प्रचार प्रसार , पर्चा , पम्पलेटिङ, जिङगल प्रशारण तथा लामखुट्टे बस्ने स्थानमा विषाधी छर्ने लगायतका गतिविधिहरु संचालन गरिएको नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाद्वारा संचालित डेंगु रोकथाम र नियन्त्रणका लागि पुर्व तयारी एवं प्रतिकार्य योजना कार्यक्रमका कार्यक्रम संयोजक भरत साउदले जानकारी दिनुभएको छ ।
यस अघि हिजो बुधबार समेत लम्कीचुहा नगरपालिका वडा नम्बर ७ र मा प्रतापपुर उपशाखाको समन्वयमा र चुहा उपशाखाको समन्वयमा लम्कीचुहा नगरपालिका वडा नम्बर ६,८ र १० मा समेत डेंगु रोकथाम तथा नियन्त्रण सम्बन्धि प्रचार प्रसार एवं औषधी छर्ने कार्य संचालन गरिएको प्रतापपुर उपशाखाका सभापति खडक चौधरीले जानकारी दिनुभएको छ ।



