‘लैंगिक हिंसा विरुद्ध विद्यार्थीको भूमिका’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत लम्कीचुहा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा आज शनिबार भएको वक्तृत्वकला प्रतियोगितामा १२ विद्यालयका १२ जना छात्राहरूको सहभागिता रहेको थियो ।कक्षा ९ र १० मा अध्ययनरत लम्कीचुहा नगरपालिका भित्र अध्ययन गर्ने सामुदायिक विद्यालयका छात्राहरूको उक्त प्रतियोगितामा सहभागीता रहेको थियो ।
सरस्वती मावि भुरुवा , राष्ट्रिय नमुना मावि मोतिपुर ,राष्ट्रिय मावि गप्का , दिपेन्द्र मावि थपालीपुर ,जनसेवा मावि गणेशपुर , राष्ट्रिय मावि बल्चौर व्यवस्थित नगर , बालकल्याण मावि भुरुवा , नवजीवन मावि बलिया , राष्ट्रिय कर्णाली मावि चिसापानी , सरस्वती मावि प्रतापपुर , जनजागृति मावि चौरी , राष्ट्रिय मावि बामनपुरका विद्यालयबाट छात्रा विद्यार्थीहरूको सहभागीता रहेको थियो ।
उक्त प्रतियोगितामा राष्ट्रिय नमुना मा.वि मोतिपुरमा अध्ययनरत छात्रा प्रतिभा जोशी प्रथम स्थान ल्याउन सफल भएकी छिन् भने जनसेवा मावि गणेशपुरकी विद्या ढकालले द्वितिय स्थान प्राप्त गरेकी छन् । यस्तै बालकल्याण मावि भुरुवाकी मनिषा आचार्यले तृतीय स्थान प्राप्त गरेकी छन् भने उक्त प्रतियोगितामा सरस्वती मावि भुरुवाकी चन्द्रमा आचार्यले सान्त्वना स्थान प्राप्त गरेकी छन् । प्रथम पुरस्कार नगद १० हजार र प्रमाण पत्र , द्वितीय पुरस्कार नगद सात हजार र प्रमाणपत्र, तृतीय पुरस्कार नगद पाँच हजार प्रमाणपत्र र सान्त्वना पुरस्कार नगद तिन हजार र प्रमाण पत्र प्रदान गरिएको थियो ।
लम्कीचुहा नगरपालिकाकी उपप्रमुख जुना चौधरीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशिला शाही रहनु भएको थियो भने विशिष्ट अतिथिमा लम्कीचुहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बूढा रहनु भएको थियो । अतिथिमा इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक शंकर खड्का , लम्कीचुहा नगरपालिकाका वडा अध्यक्षहरू , कार्यपालिका सदस्यहरू , नगरपालिकाको विभिन्न शाखामा कार्यरत शाखा प्रमुखहरू रहनु भएको थियो ।
उक्त कार्यक्रममा २०७९ साल कार्तिक १५ गतेदेखि २५ गते सम्म बङ्गलादेशमा आयोजना भएको १५ वर्ष मुनीको महिला साफ फुटबल च्याम्पियनसिप २०२२ मा नेपाली राष्ट्रिय टिमको प्रतिनिधित्व गर्दै उत्कृष्ट खेल प्रदर्शन गरेर नेपाललाई ऐतिहासिक जित दिलाएर विजेता बनाउन भूमिका खेल्ने खेलाडी वर्षा ओली र भूमिका बुढाथोकीलाई नगद रु २५ ,२५ हजार र दोसल्ला ओढाएर सम्मान गरिएकाे छ ।



