कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ लम्कीमा रहेको लम्की उपभोक्ता बचत तथा ऋण सहकारी संस्थाले बर्दगोरिया गाउँपालिकामा रहेको साहारा घरमा खाद्यान्न सामाग्री वितरण गरेको छ । लम्की उपभोक्ता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पहिल बहादुर शाहीको सभापतित्वमा भएको एक कार्यक्रमका विच साहारा घरका सञ्चालक बल बहादुर विष्टलाई दाल, चामल, तरकारी लगायतका खाद्यान्न सामाग्री वितरण गरेको सहकारी संस्थाका प्रबन्धक एकेन्द्र प्रसाद जैसीले बताउनुभएको छ ।
सहकारी संस्थाको यही पौष २३ गते हुन गइरहको आफ्नो १३ औँ वार्षिक साधारण सभाको पुर्वसन्ध्यामा सामाजिक उत्तरदायित्व वहन गर्दै उक्त सामाग्री वितरण गरेको हो ।
वि.सं. २०६५ साल पौष २७ गते लम्कीमा स्थापना भएको सहकारी संस्था अघिल्लो वर्ष राष्ट्रिय सहकारी बैँकद्धारा सुदुरपश्चिमकै उत्कृष्ट बचत ऋण सहकारी संस्थाको रूपमा सम्मानित समेत भएको थियो । हाल संस्थाले सम्पूर्ण बित्तीय सेवा सहतिको आधुनिक प्रविधिको प्रयोग, मोबाइल बैँकीङ, एसएमएस् सेवा जस्ता सेवा दिदै आएको संथामा १ हजार ४ सय ५९ जना सेयर सदस्य रहेका छन् ।
यस्तै : कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ लम्कीमा रहेको लम्की उपभोक्ता बचत तथा ऋण सहकारी संस्थाले लम्कीमा रहेको शहिद स्मृति माध्यामिक विद्यालयमा अध्ययनरत ३० जना जेहेन्दार विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गरेको छ । विद्यालयमा सोमबार एक कार्यक्रमको आयोजना गरेर झोला, कापी, ज्यामिति बक्स, पेन लगायतका स्टेशनरी सामाग्री वितरण गरिएको हो । लम्की उपभोक्ता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पहिल बहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथिमा शहिद स्मृति माविका विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गंगाराम कामी रहनु भएको थियो । कार्यक्रमको विशिष्ट अतिथिमा विद्यालयकी संस्थापक प्रधानाध्यापक नोबेन्द्रा बराल रहनु भएको थियो । कार्यक्रममा सहकारी संस्थाका उपाध्यक्ष दिल बहादुर साउँद, संस्थाका अन्य सञ्चालक सदस्यहरु, विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद जैसी, विद्यालयका अन्य शिक्षक, विद्यार्थी, पत्रकार लगायतकाको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै सहकारी संस्थाका अध्यक्ष पहिल बहादुर शाहीले लम्की उपभोक्ताले सामजिक क्षेत्रमा काम गर्ने उद्देश्यले केही राहात दिन विद्यार्थीलाई उक्त सामाग्री वितरण गरिएको र आगामी दिनमा पनि सहयोग निरन्तर गरिरहने बताउनुभयो । संचालक समितिले स्थापना कालदेखी हालसम्म कुनै पनि बैठक, खाजा लगायतका भत्ता नलिएको र सामाजिक उत्तरदायित्व बहन गर्दै समय समयमा समुदायमा विभिन्न खालका कार्यक्रम ल्याउँदै जाने अध्यक्ष शाहीले बताउनु भयो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद जैसीले गरिब तथा जेहेन्दार विद्यार्थीलाई स्टेशनरी समाग्री दिएकोमा सहकारी संस्थालाई धन्यवाद दिदै आगामी दिनमा पनि संस्थाले यस्ता किसिमका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो । कार्यक्रमको सञ्चालन सहकारी संस्थाका प्रबन्धक एकेन्द्र प्रसाद जैसीले गर्नुभएको थियो । सहकारी संस्थाको यही पौष २३ गते हुन गइरहको आफ्नो १३ औँ वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा सामाजिक उत्तरदायित्व वहन गर्दै उक्त सामाग्री वितरण गरेको हो ।



