लक्षित समुदायका विपन्न बर्गको लागि ल्याइएको खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत कैलालीको लम्कीचुहा नगरपालिकाका ८ सय ५० घरधुरी लाभान्वित भएका छन । युएसआईडी–तयार नेपाल परियोजना , बेस नेपाल नेपालले लम्कीचुहा नगरपालिकाको समन्वयमा १० वटै वडाका विपन्न बर्गका ८ सय ५० घरधुरीलाई खाद्य सुरक्षा कार्यक्रम मार्फत प्रति परिवार २१ हजार ५ सय नगदका दरले आज (सोमबार) देखि वितरण गर्न शुरु गरेको बेस नेपालका बोर्ड सदस्य सुनिल कार्कीले बताउनुभयो ।
एक कार्यक्रमकाबीच लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशिला शाहीले लम्कीमा रहेको न्यु एनपी इलोक्ट्रोनिक आईएमई बाट रकम निकासा गरि लाभग्राहीलाई लम्कीमा हस्तान्तरण गदै कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । कार्यक्रमको शुभारम्भ गदै पाएको सहयोग रकमलाई घरमा बालबालिका तथा जेष्ठ नागरिकका साथै अन्य सदस्यलाई पोषिलो खाना खुवाउन समेत नगर प्रमुखले लाभग्राहीलाई आग्रह गर्नु भएको थियो । नगद रकम सहयोग वितरणको पहिलो दिन नगरपालिकाको वडा नम्बर १, २ र ३ का लाभग्राहीलाई वितरण गरिएको र उक्त खाद्य सुरक्षा कार्यक्रमको छनोटमा परेका अन्य वडाका लाभग्राहीलाई निरन्तर रकम बाडिदै जाने तयार नेपाल लम्कीचुहाका फिल्ड संयोजक प्रेम कुश्मीले बताउनु भएको छ ।
दलित, एकल महिला, अल्पसंख्यक, असहाय, विपन्न वर्ग, अपाङ्गता भएका ब्यक्ति, जनजाति भित्रको अति विपन्न बर्गमा रहेको र साँझ विहान छाक टार्न समेत मुश्किल भएका परिवारलाई वडा स्तरका जनप्रतिनिधि बाट नाम संकल्न गरि वडा अध्यक्षको रोहबरमा वडा कार्यालयले पहिचान गरि पठाएका अतिविपन्न बर्गलाई खाद्यन्न अभावका कारण भाकै बस्न नपरोस, बालबालिका तथा घरका सदस्यलाई पोषिलो र गुणस्तरिय खाना खान सहयोग होस भन्ने उदेश्यका साथ खाद्य सुरक्षा कार्यक्रम अन्तर्गतका उक्त घरपरिवारलाई नगद रकम वितरण गरिन लागिएको बेस नेपालका लम्कीचुहा संयोजक विजया कार्कीले बताउनु भएको छ । कार्यक्रममा युएसआईडी र तयार नेपालको आर्थिक सहयोग र बेस नेपाल मार्फत कार्यक्रम सञ्चालन गरि स्थानिय सरकारको समन्वयमा कार्य भईरहेको तयार नेपालका फिल्ड अधिकृत कृष्ण चौधरीले बताउनु भयो । यो परियोजना कैलालीको लम्कीचुहा, सुर्खेतको विरेन्द्रनगर, दैलेखको दुल्लु र धादिङको निलकष्ठ नगरपालिका गरि देशभरका ४ जिल्लाका ४ पालिकामा सञ्चालन रहेको तयार नेपालका फिल्ड अधिकृत चौधरीले बताउनु भयो ।



