सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री नेपाली काँग्रेस संसदीय दलका नेता कमल बहादुर शाह नियुक्त भएका छन् । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएर पद गुमाएपछि प्रदेशसभाको सबैभन्दा ठुलो दल नेपाली काँग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । शाहलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । आज बिहीबार बेलुकी मुख्यमन्त्रीमा नियुक्त भएका शाहले भोलि शुक्रबार पद तथा गोपनीयताको शपथग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेशसभा बैठकमा सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य अनुपस्थित भएपछि मुख्यमन्त्री रावलले विश्वासको मत पाउन सकेनन् ।



