सामुदायिक रेडियो पश्चिम आवाज १०४.७ मेगाहर्ज लम्कीको साधरण सभा शुक्रबार लम्कीमा सम्पन्न भएको छ ।
लम्की जेसिस हलमा भएको रेडियोको ८ औं बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनका प्रमुख अतिथिमा सुदुरपश्चिम प्रदेश सभा सदस्य टिका थापा रहनुभएको थियो भने कार्यक्रमको विशिष्ट अतिथिमा जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी रहनु भएको थियो । रेडियोका अध्यक्ष बुद्धि प्रसाद खनाल (वि.पि.) को सभाअध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रेडियोका स्टेशन म्यानेजर देवानन्द न्यौपानेले गर्नुभएको थियो ।
सञ्चालक समितिका सदस्य सुरेश रिमालको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा लम्कीचुहा वडा नम्बर ३ का वडा अध्यक्ष लव बहादुर शाही, वडा नम्बर ५ की वडा अध्यक्ष माया विष्ट, वडा नम्बर २ का वडा सदस्य उमाकान्त देवकोटा, नेपाली काँग्रेसका नगर सचिव ललित देउवा, नेकपा एमालेका नगर अध्यक्ष लाल बहादुर बोगटी, नेकपा माओवादी केन्द्रका कमल भुल, राप्रपाका टंक देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका भरत जोशी, नेपाल पत्रकार महासंघका प्रिन्स वि.क., सञ्चालक समितिका तर्फबाट दिपक कुमार तिमिल्सिनना, उद्योग वाणिज्य संघ लम्कीका अध्यक्ष पदमराज चौलागाईँ लगायतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा बोल्दै लम्कीचुहा नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडा अध्यक्ष लब बहादुर शाहीले सामुदायिक रेडियो जनताको रेडियो भएकाले रेडियो स्तरउन्नतीका लागि आफुहरुको प्रयास सधैँ जारी रहने बताउनु भयो । यस्तै अध्यक्ष शाहीले पत्रकारलाई विकास निर्माणका काममा कलम चलाउन आग्रह गर्दै कमिकमजोरी समेत ढकाछोप नगरी निर्धक्क समाचार लेख्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै वडा नम्बर ५ की वडा अध्यक्ष माया बिष्टले दर्ता नभएका मिडिया हाउसले सञ्चार जगतको बेइज्जत गर्ने गरेको बताउँदै पत्रकारलाई सही सूचना दिन आग्रह गर्नभयो । पत्रकारहरुको पिडा आफुहरुले बुझेको भन्दै पत्रकारलाई दिने सुचना, विज्ञापन तथा शुभकामना सबै सं–संस्थाले दिनुपर्ने भन्दै आफुहरु सधैँ पत्रकारहरुको साथमा रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष बुद्धि प्रसाद खनालले रेडियोले समाज परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेको बताउँदै रेडियोको आफ्नै जग्गा रहेको र भवन निर्माणमा समस्या भएकाले भवन निर्माणका लागि विभिन्न निकायमा पहल गरिरहेको बताउनुभयो । सबैलाई सूचनाको अधिकार सहजै पुर्याउनका लागि राजकाँडामा एक रिले स्टेशन निर्माण गर्ने लक्ष्य रहेको समेत अध्यक्ष खनालले बताउनुभयो ।
कार्यक्रममा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका प्रवन्धक युवराज न्यौपानेले रेडियोले आफ्ना घोषित उद्देश्य प्राप्तीका लागि आफ्नो कार्यक्रमको बनोट र प्राथमिकता निर्धारण गरिरहेको बताउनुभयो । रेडियोले विभिन्न जनचेतनामुलक कार्यक्रम उत्पादन, प्रकाशन र प्रशारण गरिरहेको भन्दै रेडियोको स्तर उन्नतीका लागि सबैजनाले साथ दिनुपर्ने प्रवन्धक न्यौपानेले बताउनुभयो ।
आन्तरिक लेखा परीक्षणका संयोजक मोती प्रसाद उपाध्यायले कार्यक्रममा रेडियोको आर्थिक वर्ष २०७८–०७९ को २७ लाख १३ हजार ४ सय ७५ रुपैँया साठी पैसा बराबरको आयव्यय रहेको सुनाउँदै रेडियोको आर्थिक अवस्था कमजोर रहेकाले सम्पुर्ण सञ्चालक सदस्यहरुले यसको स्तर उन्नतीका लागि गम्भिर भएर सोच्नुपर्ने बताउनुभयो ।
यसैबीच संस्थाको शुक्रबार भएको दोस्रो चुनावी अधिवेशनबाट अध्यक्षमा १, उपाध्यक्षमा १ र सदस्यहरुमा ४ जना निर्विरोध निर्वाचित भएका छन् । संस्थाको दोस्रो कार्यकालका लागि खडानन्द सापकोटा अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा दिपक कुमार तिमिल्सिना निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै सदस्यमा पनि ४ जनै निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुने सदस्यहरुमा देवकी कार्की, सुरेश रिमाल, गणेशराज वली र खेमराज न्यौपाने रहेका निर्वाचन मण्डल समितिका संयोजक अधिवक्ता मायाराम धमालाले बताउनुभयो । आज भएको चुनावी अधिवेशनको निर्वाचन मण्डलको संयोजकमा मयाराम धमाला रहनुभएको थियो भने सदस्यहरुमा रंगप्रसाद तिमिल्सैना र नविन कुमार देवकोटा रहनुभएको थियो ।

यस्तै लम्की सञ्चार समूहको सिफारिस अनुसार आजै बसेको नयाँ सञ्चालक कार्यसमितिको बैठकले २ जना सदस्य मनोनित गरेको छ । मनोनित हुने सदस्यहरुमा ललित देउवा र मिलन बहादुर बटाला रहेका छन् ।



