बैतडी जिल्लाका सरकारी कार्यालयका प्रमुखरूसँग अन्तरक्रिया कार्यक्रम बिहीबार जिल्ला प्रशासन कार्यालयको हलमा भएको छ ।
सुदुुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह बैतडी भ्रमणका क्रममा सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले कर्मचारीका सन्दर्भमा जनशक्तिको अभाव रहेको बताउँदै लोकसेवा आयोगलाई तत्काल जनशक्ति तयार गर्नका लागि छलफल थालेकाले पुरा हुने विश्वास व्यक्त गरे ।
जनताको काम गर्ने कुरामा कुनै पनि बहानामा ढिला सुस्ती नगर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश सरकारले धेरै ठुला ठुला गफ नदिने र भएको स्रोत साधनको भरपूर प्रयोगमा ल्याउन सरकार प्रतिबद्ध भएको बताए । मुख्यमन्त्री शाहले कर्मचारी , जनप्रतिनिधि सबै मिलेर प्राथमिकताका आधारमा योजना छनोट गरी पहिला आवश्यकता के हो भनेर पहिचान गरेर योजना छनोट गर्नुपर्नेमा जोड दिए । जिल्लाको शान्ति सुरक्षाको विषयमा सुरक्षा निकायबाट विशेष ध्यान दिनुपर्नेबताए ।
प्रदेश सरकारको प्राथमिकता कृषि , पर्यटन , शिक्षा भएको बताउदै मुख्यमन्त्री शाहले स्रोत साधनले भ्याएसम्म इमानदारीपूर्वक काम गर्नुपर्ने बताए । योजना छनोट गर्दा वडा तहका जनप्रतिनिधिहरूको सहभागीतामा सबै जनताको उपस्थितिमा आवश्यक कामलाई प्राथमिकता राखेर योजना छनोट गर्नुपर्ने बताए । बैतडी जिल्लामा थुप्रै समस्या भएको बताउँदै मुख्यमन्त्री शाहले प्राथमिकताका आधारमा योजनाहरू क्रमश पुरा गरिने बताए ।
अन्तरक्रिया कार्यक्रममा प्रदेशसभा सदस्य शिवराज भट्ट , विक्रमसिंह धामी , प्रदेश योजना आयोगका उपाध्यक्ष मोहन बिष्ट , बैतडीका प्रमुख जिल्ला अधिकारी लगायत विभिन्न कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनिधिहरूको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीहरूले आफ्नो कार्यालयमा भएका समस्या , जनशक्तिको अभाव , आगामी दिनहरूमा गर्नुपर्ने काम लगायत विभिन्न विषयमा मुख्यमन्त्री समक्ष आ-आफ्नो भनाइ राखेका थिए ।



