सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनप्रतिनिधि मात्र नभइ पत्रकार पनि देश, जनता र समाजप्रति जिम्मेवार हुनुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन लम्की शाखा कैलालीको पाचौँ अधिवेशन तथा ३२ औँ स्थापना दिवसका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै शाहले देशको विकास र समृद्धिका लागि जनप्रतिनिधि मात्र नभइ पत्रकारसमेत जिम्मेवार हुन आवश्यक रहेको बताए।
मुख्यमन्त्री शाहले मुलुकको व्यवस्था, सङ्घीयता र भसोरा जोगाउने दायित्व जनप्रतिनिधिको भएको बताउँदै यी व्यवस्था जोगाउ सहयोग पुग्ने खालका समाचार मिडिमार्फत आउनुपर्ने बताए। उनले अहिलेको व्यवस्थाबाट मुलुकको समृद्धि हुनुपर्नेमा जोड दिए। प्रदेश सकार पत्रकार जगतलाई अलग राखेर अघि नबढ्ने विश्वास दिलाउँदै मुख्यमन्त्री शाहले पत्रकारलाई साथमा लिएर अघि बढ्ने बताए। सरकारका कमी कमजोरीमा औँला उठाउन आग्रह गर्दै उनले आफूले प्रेस स्वतन्त्रताको वातावरण बनाउन पहल गर्ने बताए। 'पत्रकारले सही सूचना मात्र दिनुपर्छ, सत्य नबुझी कसैको मानमर्दन हुने समाचार लेख्न हुन्न' उनले भने, 'प्रदेश सरकारलाई सुझाव दिने खालका समाचार लेख्नुस्, म पूर्वाग्रही हुनेछैन। सुझावका रुपमा लिनेछु।'
कार्यक्रममा नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीले जनप्रतिनिधिले पनि प्रेस सल्लाहकार राखेर मिडियालाई सहज हुने गरी सूचना दिनुपर्ने आवश्यक रहेको बताए। उनले पत्रकार महासङ्घले पत्रकारको शुद्धीकरण अभियान चलाएका बेला युनियनसमेतमा शुद्धीकरण आवश्यक रहेको बताए।
कार्यक्रममा नेपाली कांग्रेस कैलालीका उपसभापति भीम बडुवालले पत्रकारिताले व्यावसायिक धर्म भुल्न नहुने बताए।
लम्कीचुहा नगरपालिकाका प्रमुख शुशिला शाहीले पत्रकारले भष्ट्राचारका विरुद्ध सशक्त तरिकाले कलम चलाउन आवश्यक रहेको बताए।
प्रेस युनियन सुदूरपश्चिमका अध्यक्ष मनमोहन स्वाँरले पत्रिका, एफएम धरापमा परिरहेकाले पत्रकार पनि समस्यामा रहेका बताउँदै मिडियाको संरक्षणमा सरकारको ध्यान जानुपर्नेमा जोड दिए।
नेपाल प्रेस युनियन लम्की शाखा कैलालीका सभापति देवानन्द न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा मोहन्याल गाउँपालिकाका उपाध्यक्ष कमल साउँद, पत्रकार महासङ्घका केन्द्रीय सदस्य भरत शाह, पत्रकार महासङ्घका सुदूरपश्चिम अध्यक्ष योगेश रावल, नेपाली कांग्रेस लम्की चुहा नगरका सभापति इन्द्र कुँवर, युनियन लम्कीका सल्लाहकार भुवनेश्वर अधिकारी , नेपाल प्रेस युनियन लम्की शाखाका संस्थापक अध्यक्ष रंग प्रसाद तिमिल्सेनाले अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए।



