चन्द्र प्रसाद खनाल /लम्की , जेठ २३ ,२०८०
त्रिवेणी धाम संरक्षण समाजको प्रथम अधिवेशन मंगलबार मोहन्याल गाउँपालिका वडा नं - ७ बडीगाउँमा सम्पन्न भएको छ । त्रिवेणी धाम संरक्षण समाज मोहन्याल ७ कैलालीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । त्रिवेणी धाम संरक्षण समाज मोहन्याल -७ कैलालीका अध्यक्ष सुर्य बहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि मोहन्याल गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्याय रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथिमा मोहन्याल गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष नवराज कठायत रहेका थिए ।
कार्यक्रममा पुर्व वडा अध्यक्ष खर प्रसाद अधिकारी , नेपाली कांग्रेसका सभापति डण्डी प्रसाद भण्डारी , नेकपा एमालेका अध्यक्ष महेश बिष्ट , राप्रपाका प्रतिनिधि शंकरसिंह बिष्ट , त्रिवेणी माध्यमिक विद्यालयका प्रधानाध्यापक दानबहादुर बोहरा , त्रिवेणी युवा क्लबका अध्यक्ष नारायण तिमिल्सेनाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा समाजसेवी , स्थानीयहरू, त्रिवेणी धाम संरक्षण समाजका पदाधिकारी तथा सदस्यहरूको सहभागीता रहेको थियो ।

त्रिवेणी धाम संरक्षण समाजका कोषाध्यक्ष नेत्रप्रसाद ढुंगानाको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन त्रिवेणी धामका सचिव रामनाथ जैसीले गरेका थिए ।
कार्यक्रममा बोल्दै मोहन्याल गाउँपालिकाका अध्यक्ष उपाध्यायले धार्मिक तथा पर्यटकीय क्षेत्र संरक्षण , संरचनाको निर्माण गरेर अगाडि बढ्नुपर्ने र समग्र मोहन्याल गाउँपालिकामा भएका पर्यटकीय क्षेत्रको विकास , प्रचारप्रसार गर्नुपर्ने र मोहन्यालमा भएका पर्यटकीय संरचनाहरू गौरव गर्न लायक भएको बताए । अध्यक्ष उपाध्यायले त्रिवेणी धाम संरक्षण समाजका लागि गाउँपालिकाको तर्फबाट विशेष सहयोग रहने प्रतिबद्धता जनाएका छन् । पवित्र उद्देश्य बोकेर त्रिवेणी धाम संरक्षण समाज मार्फत धार्मिक तथा पर्यटकीय संभावनाका विषय लिएर गठन भएको संस्था भएकाले पालिका सहयोग गर्न तयार रहेको बताए ।
वडा नं ७ का वडा अध्यक्ष नवराज कठायतले धर्म , कला संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिँदै त्रिवेणी धाम संरक्षण समाजलाई वडाको तर्फबाट कुनै पनि सहयोगको कमी हुन नदिने बचन बद्दता व्यक्त गरे ।
कार्यक्रममा बोल्ने वक्ताहरूले त्रिवेणी धाम संरक्षण समाज विशुद्ध रुपमा धार्मिक तथा पर्यटकीय संस्था भएकाले यसको विकासका लागि सबै एकजुट भएर लाग्ने प्रतिबद्धता जनाए ।
भेरी , कर्णाली र बादे खोलाको संगम त्रिवेणी धाम रहेको छ । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको मोहन्याल गाउँपालिका , कर्णाली प्रदेशको सुर्खेत जिल्लाका पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाले छोएको पवित्र भुमिका रुपमा चिनिन्छ । मेला , महायज्ञ , पित्रि यज्ञ लगायत चाडपर्वका समयमा स्नान गरेमा राम्रो हुने विश्वास रहेको छ ।
यस्तै त्रिवेणी धाम संरक्षण समाजको प्रथम अधिवेशनबाट सुर्य बहादुर शाहीलाई पुनःकार्य समितिको अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ । जसको उपाध्यक्षमा उमादेवी उपाध्याय , सचिव रामनाथ जैसी , कोषाध्यक्षमा नेत्र प्रसाद ढुंगाना सर्वसम्मत चयन भएका छन् । सदस्यहरूमा तारा प्रसाद अधिकारी , लोगराज कठायत ,नवराज शाही , दिपेन्द्र बहादुर शाही , इशरा धमाला , नवराज उपाध्याय , शंकरसिंह बिष्ट चयन गरिएका छन् ।



