धनगढी उपमहानगरपालिकामा संचालन भएको लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाको काम आफूलाई राम्रो लागेको वडा नम्बर १९ का अध्यक्ष बाधुराम चौधरीले बताएकाछन् । ‘हाम्रो एउटा काम, लैंगिक हिंसा रोकथाम’ भन्ने नाराका साथ लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि आयआर्जन सम्बन्धी जेष्ठ २३ गते फुलबारीमा सम्पन्न भएको एकदिने अनुशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै चौधरीले लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना मार्फत राम्रो काम भएको बताएका हुन् ।
दुईवर्ष देखि वडा नम्बर १९ मा संचालन हुँदै आएको परियोजनाको कामलाई मैले नजिकबाट हेरि रहेको छु । परियोजनाको कामको समाजमा सकारात्मक प्रभाव परेको परेको छ । वडा सरकारले पनि लैंगिक हिंसालाई प्राथमिकतामा राखेर गत आर्थिक वर्षमा बजेट विनियोजन गरेको थियो । त्यही बजेटबाट आजको कार्यक्रम आयोजना गरिएको हो । आगामी वर्षका लागि पनि बजेट विनियोजन गरेको चौधरीले बताए ।
महिला शाखा प्रमुख अनिता बुढाऐरले आफ्नो व्यवहारमा परिवर्तन नल्याए सम्म लैंगिक समानता कायम गर्न नसकिने बताईन् । हानिकारक सामाजिक अभ्यासका कारण समाजमा धेरै लैङ्गिक हिंसाका घटना भई रहेकाले रोकथामका लागि कानुनको कार्यन्वयन हुनुपर्ने उनले बताईन् । सीमित वडामा संचालन भईरहेको परियोजनालाई धनगढी उपमहानगरपालिकाका सबै वडामा संचालन गर्नुपर्नेमा उनले जोड दिइन् ।
वडा सचिब हरी प्रसाद भट्टले लैंगिक हिंसा रोकथामको लागि शिक्षा र जनचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको बताए । कार्यक्रममा सिकेका कुराहरु जीवन व्यवहारमा लागू गरेपछि मात्र कार्यक्रम अर्थपूर्ण हुने भन्दै भट्टले लैङ्गिक हिंसा सम्बन्धी वडाले ६० हजार विनियोजन गरेको रकमले कार्यक्रम आयोजना गरिएको बताए ।
फुलबारी स्वास्थ्य चौकीका अहेब रबिन्द्र धानुकले घरबाटै लैंगिक हिंसाका विरुद्ध आवाज उठाउनुपर्ने भन्दै परियोजनाका कर्मचारी संग मिलेर काम गर्ने गरेको बताए ।
कार्यक्रममा सहभागी पुजा बोहराले समाजमा महिलाहरुले अपमानजनक व्यवहार सहदै आउनु परेको बताइन् । शारीरिक, मानसिक र यौनजन्य यातना महिलाहरुले सहनु परेको छ । उनले भनिन् “घरपरिवारको बेइज्जत हुने डरले महिलाहरु घरबाहिर आउन सकेका थिएनन् । परियोजनाको सहयोगमा महिलाहरु आफूमाथि भएको लैङ्गिक हिंसाका विरुद्ध बोल्न थालेकाछन् । आजको कार्यक्रम मलाई धेरै राम्रो लाग्यो हिंसा सहेर बस्नु हुँदैन भन्ने सिकाई भयो ।” सहभागी पार्वती ओलीले समाजमा लैङ्गिक हिंसामा परेका महिलाहरु भेटिए सामुदायिक मनोसामाजिक कार्यकर्तालाई जानकारी दिने गरेको बताईन् । वडाले बजेटको व्यवस्था गरी कार्यक्रम आयोजना गरेकोले खुसी लागेको उनले बताइन् ।
स्वीस विकास सहयोग, नर्वेजिएन दुताबास र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष यूएनएफपिएको आर्थिक सहयोग धनगढी उपमहानगरपालिकाको नेतृत्वमा आइपास, भिएसओ, पिसविन र सीएमसी नेपाल लगायत साझेदारी संस्थाको सहकार्यमा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना संचालन भईरहेको छ । सोही परियोजना अन्र्तगत महिला शाखा संग समन्वय गरेर घरभेटघाट गर्ने, लैंगिक हिंसा प्रभावितको पहिचान गर्ने, प्राथमिक मनोवैज्ञानिक सहयोग दिने,समुदायबाट सेवाग्राहीलाई ओसीएमसी लगायतका सेवा प्रदायक निकायमा सिफारिस गरी पठाउने, मनोसामाजिक परामर्श सेवा दिने, केशको व्यवस्थापन गर्ने, समुदायमा जोडी संवाद र रुपान्तरण कक्षा सहित अभिमुखिकरण कार्यक्रम निरन्तर रुपमा संचालन हुदै आएका छन् ।
वडा अध्यक्ष बाधुराम चौधरीको अध्यक्षतामा भएको अनुशिक्षण कार्यक्रमको प्राबिधिक सहयोग महिला शाखा प्रमुख अनिता बुढाऐर, लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनामा कार्यरत पिसविनका कार्यक्रम संयोजक जुद्ध रावल, सामाजिक परिचालक बसुन्धरा भट्ट र सीएमसी नेपालका .जिल्ला मनोसामाजिक परामर्शकर्ता धनराज विकले गरेका थिए ।
भलमन्सा, टोलसुधार समितिका संयोजक, समुहका प्रतिनिधि सामुदायिक मनोसामाजिक कार्यकर्ता संयोजक र सामुदायिक मनोसामाजिक कार्यकर्ता सहित महिला २६ र पुरुष २४ गरी ५० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा लैङ्गिक हिंसा प्रभावित र मानसिक समस्या भोगेकाहरुले मनोसामाजिक परामर्शकर्तालाई भेटेर आफ्ना समस्या सुनाएका थिए ।



