रंगप्रसाद तिमिल्सैना लम्की/ अषाढ १
आधारभूत प्राथमिक उपचार सम्बन्धि दुई दिने तालिम शुकवार आज धनगढीमा सम्पन्न भएको छ ।
जिआईजेड को आयोजना तथा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा प्रवर्द्धनात्मक प्राथमिक उपचार तालिम कार्यक्रम अन्तर्गत हिजो बिहिवारदेखि शुरु भएको तालिम आज शुक्रबार सम्पन्न भएको हो । तालिममा जिआईजेडमा कार्यरत सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका २३ जना कर्मचारी स्टाफहरुको सहभागिता रहेको थियो ।
तालिम कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी स्वास्थ विभाग प्राथमिक उपचार महाशाखाका कार्यक्रम संयोजक राजु राउतले प्रवर्द्धनात्मक प्राथमिक उपचार कार्यक्रम अन्तर्गत आयोजना गरिएको तालिममा रेडक्रसको महत्वपूर्ण सिप मध्ये प्राथमिक उपचार सिपका बारेमा जानकारी गराइएको बताउनुभयो । उहाँले तालिममा सहभागीहरुले सिकेको सिपलाई व्यवहारमा उतार्नेमा विश्वास व्यक्त गर्नुभयो । तालिममा प्राथमिक उपचार सिप, घाईतेको जाँचको चरणहरु , बेहोसी, रक्तश्राव, क्षोभ, हाड भचाई, पट्टीहरुको प्रयोग, मेरुदण्डको चोट, ओसार पसार लगाएतका महत्वपूर्ण सिपहरुको विषयमा प्रशिक्षण दिइएको थियो ।
प्रशिक्षणमा नेपाल रेडक्रस सोसाइटी स्वास्थ विभाग प्राथमिक उपचार महाशाखाका कार्यक्रम संयोजक राजु राउत, नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सदस्य एवं बलिया उपशाखा सभापति रंगप्रसाद तिमिल्सैना , नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रादेशिक गोदाम घर इन्चार्ज लक्ष्मणदत्त भट्ट , नेपाल रेडक्रस सोसाइटी घोडाघोडी उपशाखा उपसभापति कल्पना पाठक र नेपाल रेडक्रस सोसाइटी धनगढी ५ नम्बर उपशाखा सदस्य सुवासचन्द्र भण्डारीले प्रशिक्षण दिनुभएको थियो ।
सहभागीका तर्फबाट जिआईजेडका पशुपतिनाथ झाले तालिममा सिकेका सिपहरुलाई व्यवहारमा उतार्न आफुहरु सक्रिय भएर लाग्ने बताउनुभयो ।



