रंगप्रसाद तिमिल्सैना लम्की/ असार २८
एकीकृत पाठ्यक्रमको मुल्यांकन प्रवोधिकरण सम्बन्धि तालिम आज बिहीबारदेखी राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थितनगमा सुरु भएको छ । लम्कीचुहा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थितनगरको आतिथ्यतामा तालिम सुरु भएको हो ।

पाठयक्रम विकास केन्द्रले २०७६ देखि २०८० सम्म परिमार्जन गरि परीक्षण तथा हाल कार्यन्वयन गरेको एकीकृत पाठयक्रमका विषयमा र मूल्याकंनका विषयमा जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको हो । एकीकृत पाठयक्रमको कक्षा १ देखि ३ सम्म पाठ्यक्रमको समग्र संरचनामा हाम्रो सेरोफेरो, गणित संसार, नेपाली भाषा, अङ्ग्रेजी भाषा र मातृभाषा वा स्थानीय विषयवस्तुलाई बहुविषयक ढाँचामा समावेश गरिएको छ। एकीकृत पाठ्यक्रमलाई सक्षमतामा आधारित बनाउन कक्षा १-३ का तहगत र विषयगत सिकाइ उपलब्धि पहिचान गरिएको छ। यस पाठ्यक्रमले विषयगत सक्षमताका साथै जीवनोपयोगी व्यवहारकुशल सीपलाई समेत एकीकृत गरेको छ।
व्यवहारकुशल सीप अन्तर्गत सोचाइ सीप, वैयक्तिक सीप, अन्तरवैयक्तिक सीप, सूचना प्रविधि तथा बहुसाक्षरता सीप र नागरिक सीप समावेश गरिएका छन्। यी व्यवहारकुशल सीपलाई सबै विषयसँग अन्तरसम्बधित गरी एकीकृत गरिएको छ। एकीकृत पाठ्यक्रमको कक्षा १ देखि ३ सम्म हरेक विषयको पहिलो सार 'म र मेरो परिवार' रहेको छ । यही सारमा आधारित रही विभिन्न सिकाइ सहजीकरण क्रियाकलापहरु समावेश गरिएको छ।
पुरानो अन्तरविषय वस्तुभन्दा विषयगत एकीकृत पाठ्क्रमका बारेमा दिइएको तालिमले शिक्षामा परिवर्तन ल्याउनेमा आफु विश्वस्त रहेको लम्कीचुहा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेले बताउनुभयो । भोलि शुक्रबार सम्म संचालन हुने तालिममा राष्ट्रिय मावि बल्चौर व्यवस्थितनगर, बालकल्याण मावि भुरुवा, कालिका मावि भुरुवा लम्की, राष्ट्रिय मावि थापापुर, सरस्वती मावि भुरुवा, पुर्णिमा प्रावि कौवापुर,जनचेतना प्रावि मोतिपुर र ज्ञानोदय प्रावि चौरीका ८४ जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको छ ।
राष्ट्रिय मावि बल्चौर व्यवस्थितनगरका प्रधानाध्यापक धर्मराज जैशीको सभापतित्वमा भएको तालिमको सहजीकरण लम्कीचुहा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेले गरिरहनुभएको छ । तालिमको पहिलो दिनको सेसनलाई बालकल्याण मावि भुरुवाका प्रधानाध्यापक रुपलाल न्यौपानेले गर्नुभएको थियो ।



