प्रथम मुख्यमन्त्री जिल्ला व्यापी पालिका स्तरीय फुटबल कप ५ दिनपछि सर्यो, मंसिर १३ देखि सुरु हुने कैलालीमा प्रथम मुख्यमन्त्री जिल्ला व्यापी पालिका स्तरीय फुटबल प्रतियोगिताको मिति सरेको छ ।
बर्दगोरिया स्पोर्टस् एण्ड ईभेन्टस प्रालिको आयोजनामा बर्दगोरियामा हुन लागेको जिल्लाव्यापी फुटबल प्रतियोगिताको मिति पाँच दिन पछि सरेको हो ।
यही मंसिर ८ गतेदेखि मुडा खेलमैदानमा हुने भनिएको उक्त प्रतियोगिता मंसिर १३ गतेदेखि सुरुभइ २१ गते समापन हुने आयोजकले जनाएको छ । प्राविधिक कारणले पूर्वनिर्धारित मितिभन्दा केही दिन पछि सारिएको आयोजक बर्दगोरिया स्पोर्टस् एण्ड ईभेन्टस प्रालिका अध्यक्ष प्रमोद मल्लले जानकारी दिए । प्रतियोगितामा जिल्लाभरका १३ वटै पालिकाबाट फुटबल टिम सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहबाट उद्घाटन हुनेछ ।
‘आत्मविश्वास, आत्मनिर्भर, स्थानीय पहिचान र स्वाथ्यका लागि खेल’ भन्ने नारा दिइएको प्रतियोगिताको सम्पूर्ण आन्तरिक तयारी तीव्र पारिएको छ ।
‘पालिका स्तरबाट नै खेलाडीहरुको उत्पादन, पहिचान, गरि उनीहरुको स्वास्थ्य, अनुशासन र लगनशीलतामा जोड दिँदै देशकै प्रतिनिधित्व गर्न प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष मल्लले बताए । उनले युवाहरुलाई खेलप्रति प्रेरित गर्न र कुलतबाट जोगाएर समाजप्रति जिम्मेवार र उत्तरदायी बनाउन खेलले भूमिका खेल्ने अपेक्षा गरिएको बताए । ‘देशको विकास र परिवर्तनको भूमिकामा रहेका युवाहरुलाई लागुपदार्थ, कुलत एवम् दुर्व्यसनीमा फसिरहेका छन् ।’ अध्यक्ष मल्लले भने, ‘समाजमा खेलको माध्यमबाट देशकै प्रतिनिधित्व हुने गरी अब्बल खेलाडी उत्पादन, उनीहरुको क्षमता विकास गर्न र सकारात्मक सन्देश प्रवाह गरी समाजको पहिचान गर्न प्रतियोगिताले योगदान पुर्याउने विश्वास र अपेक्षा छ । त्यसैले, देशका युवा कर्णधारलाई त्यसतर्फ लक्षित गर्न खोजिएको हो ।’ खेलमा प्रत्येक पालिकाबाट बढीमा ३ वटा टिम सहभागि हुन पाउनेछन् ।
प्रतियोगिताको विजेता टिमले २ लाख १ हजार र उपविजेता हुनेले १ लाख ५ हजार रुपैयाँ र ट्रफी पाउनेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई २० हजार र ट्रफी प्रदान गरिनेछ । अन्य विभिन्न विद्यातर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट डिफेन्डर र उदयमान खेलाडीले जनही १५ हजार रुपैयाँ र ट्रफी पाउनेछन् । ६ हजार टिम दर्ता शुल्क तोकिएको छ भने मंसिर १० गते ३ बजेसम्म दर्ता गरिसक्नु पर्नेछ ।
प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापनका लागि कुल २५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिता सञ्चालनार्थ देश तथा विदेशमा रहेका विभिन्न व्यक्तिबाट अहिलेसम्म डेढ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ ।
प्रतियोगिताको सेमिफाइनल खेलभन्दा अघि कैलाली जिल्लाका महिला फुटबलतर्फ उत्कृष्ट दुईवटा टिमबीच मैत्रीपूर्ण खेल सञ्चालन हुने आयोजकले जनाएको छ । फुटबल खेलप्रति महिला सहभागिता, चासो बढाउन र आत्मबल वृद्धि गर्ने उद्देश्यले मैत्रीपूर्ण खेल गरिने आयोजक बर्दगोरिया स्पोर्टस् एण्ड ईभेन्टस प्रालिका अध्यक्ष मल्लले बताए ।



