चन्द्र प्रसाद खनाल , मंसिर २९ लम्की
घोरीघोरा लवांगी पुजा तथा थारू सांस्कृतिक महोत्सव २०८० को एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले समुद्घाटन गर्नु भएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका–१ घोडाघोडी मन्दिर परिसरमा घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव-२०८० आज शुक्रबारबाट सुरु भएको हो । “भाषा,धर्म,कला,संस्कृती के करी सम्मान, घोरीघोरा मन्दिर थारुन के दउ थान के चिन्हैन हमार अभियान” भन्ने मूल नाराका साथ घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव २०८० सुरु भएको हो । घोडाघोडी नगर भल्मन्सा कार्य समिति, घोडाघोडी सन्त समागम समाजको सहकार्य र घोडाघोडी तथा संस्कृति संरक्षण समाजको आयोजनामा आज मसिंर २९ गते देखी पौष १ गते सम्म घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव हुनेछ ।
घोडाघोडी संस्कृति संरक्षण समाजका अध्यक्ष चन्द्र चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह रहेका थिए । कार्यक्रममा पुर्व मन्त्री गौरीशंकर चौधरी , सुदूरपश्चिम प्रदेशका कृषि मन्त्री रामेश्वर चौधरी , प्रदेश सांसद खुसीराम चौधरी , घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावत लगायत जनप्रतिनिधि , राजनीतिक दलका प्रतिनिधि , समाजसेवी , बुद्धिजीवी , थारू अगुवा , भलमन्सा लगायतकाको सहभागीता रहेको थियो ।
महोत्सवमा घोडाघोडी नगरपालिका भित्रका ८२ गाउँका स्थानीयहरूको सहभागीता रहेको छ । महोत्सवमा थारु संस्कृति भल्काउने झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति सँगै थारु समुदायको भेषभुषा झल्काउने विभिन्न नाचहरू समेत प्रस्तुत भएका छन् । कार्यक्रममा थारु समुदायको पुरानो बडका नाच, सखिया नाच, लाठी नाच, झुम्रा नाच, दिन नचुवा नाच, धमार, मांगर लगायतको प्रस्तुति समेत रहेको छ ।
थारु समुदायले घोडाघोडीमा लवाङ्गी पूजा परापूर्वक काल देखी गदै आएको छ । अन्नबाली घर भित्राइसकेपछि त्यो अन्नबाली देउतालाई चढाउनु पर्ने मान्यता सहित यहाँ लवाङ्गी पूजा गरिन्छ । लवाङगी पुजामा चर्तुथदर्शीको साझाँ कुला देउथानमा थारु चलन अन्तरगत ढकेर गुरुवाले रातभरी ढाक अर्थात डेङका बजाउने र गुरुवाहरुद्धारा रातभरी देउता खेल्ने सुसुवाउने गर्दछन र बिहानको समयमा सामुहिक पुजा गर्दै क्षेत्रवासी ग्रामवासी तथा प्रान्ततिय अनुसार कुल देउतालाई बली चढाउने गर्दछन । थारु समाजमा वर्षे खेतीपाती गरि उत्पादन भएको नयाँ अन्नपात घरमा भित्राई सके पछि आफुले खानु भन्दा अगाडी आफ्ना कुल देउताहरुलाई प्रसाद स्वरुप चढाई सके पछि मात्र नयाँ अन्न खाने चलन थारु समाजमा रहेको छ । सोही मान्यताको आधारमा हरेक वर्ष लवाङगी पुजा गर्ने गरिन्छ ।
कुल देउथानमा लवाङगी पुजा गरि सके पछि आ आफ्नो गाउँघरमा भलमन्साहरुले पुनः गाउँ गाउँमा आ आफ्नो गाउँको गुरुवाद्धारा गाउँको नाममा लवाङगी पुजा गर्ने चलन समेत रहेको छ । यसरी लवाङगी पुजा गरेमा गुरुवाहरुद्धारा अन्नपात पनि राम्रो हुने अन्नपातको बृद्धिका लागि बरकत माग्ने चलन रहेको समेत सामाजिक मान्यता रहेको छ ।



