धनराज विक (अविरल) फागुन २ माल्टा (युरोप)
सुदूरपश्चिम सेवा समाज माल्टाद्धारा बझाङका भूकम्प पीडित बाबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरिएको छ । श्री घटालदेव मंगल आधारभूत विद्यालय मष्टा २ धनतोली बझाङमा अध्यनरत विद्यार्थीहरुलाइं ६० हजार बराबरको न्योनो कपडा र शैक्षिक सामाग्री वितरण गरिएको हो ।
माघ २ गते सरस्वती पूजाको दिन एक कार्यक्रमको आयोजना गरी करिब ६० जना विद्यार्थीलाई सुदूरपश्चिम सेवा समाज माल्टाको आर्थिक सहयोगमा न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरिएको समाजसेवी चन्द्रा ऐरले बताएकी छन् ।
२०८० साल असोज १७ गते गएको भूकम्पले विद्यालयको भुवन पूर्णरुपमा क्षतिभई पठनपाठनमा समस्या भएको थियो । बन्दै गरेको नयाँघर भाडामा लिएर पठनपाठनको काम सुरुगरे पनि गरिबीका कारण बालबालिका पुस माघको चिसोमा च्यातिएको कपडा लगाएर पढ्न आउने गरेको विद्यालय व्यवस्थापनका समितिका अध्यक्ष दिनेश बहादुर रोकायाले बताए ।उनले भने, “सुदूपश्चिम सेवा समाज माल्टाले सहयोग संकलन गरी पठाएको रकमले न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेपछि बालबालिका धेरै खुसी भएका छन् ।”
भूकम्पका कारण विद्यालय पूर्णरुपमा क्षतिभई बालबालिकाको अवस्था दयनिय छ भन्ने खबर समाजसेवी चन्द्रा ऐरले जानकारी गराउनु भएको थियो । भत्केको विद्यालय र पुस माघको चिसोमा पनि च्यातिएको लुगा लगाएर बालबालिका स्कूल गएको फोटा देख्दा धेरै दुुःख लाग्यो । थोरै भएपनि सहयोग गर्नुपर्छ भनेर सुदूरपश्चिम सेवा समाज माल्टाले एकहप्ता सहयोग अभियान संचालन गरी ६० हजार संकलन गरेर सहयोग रकम पठाएको समाजका अध्यक्ष दिपक सिंह ठगुन्नाले बताए । समाजले थालेको सहयोग अभियानमा साथ र सहयोग गर्ने सबैलाई ठगुन्नाले धन्यवाद् समेत दिएका छन् ।
हाम्रो सानो सहयोगले कसैलाई ठूलो मद्दत पुग्न सक्छ । भविष्यका कर्णदार बालबालिकाको नाजुक अवस्था देखेपछि पठापाठनमा सामान्य भएपनि सहयोग पुगोस् भनेर सहयोग संकलन गरी पठाएको सुदूरपश्चिम सेवा समाज माल्टाका कोषध्यक्ष दिनेश नागरीले बताए । विदेशमा काम गरेर पनि मानविय सहयोग गर्न पाउँदा निकै खुसी लागेको महासचिब शिशिर जनालले बताए । उनले भने, “नागरिकको अधिकारका लागि सरकार जिम्मेबार बन्नुपर्छ ।”
सुदूरपश्चिम सेवा समाज माल्टाका प्रवक्ता धनराज अविरलले यसअघि बाजुराका भूकम्प पीडितलाई समाजले ७२ हजार, त्यसैगरी जाजरकोट भूकम्प पीडितलाई १ लाख र अहिले बझाङका भूकम्प पीडित बालबालिकालाई ६० हजार नगद् सहयोग संकलन गरी पठाएको बताए । माल्टामा समाजसेवी मन भएका र सहयोग गर्ने सबै नेपालीलाई उनले धन्यवाद् दिएकाछन् ।
हिजोअस्ती मलिन मुहारमा देखिने बालबालिका आज नयाँलुगा र शैक्षिक सामाग्री पाएपछि उनीहरुको मुहार उज्यालो देखिएको छ । सहयोग गर्ने सुदूरपश्चिम सेवा समाज माल्टालाई सम्मान पत्रले सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक पशुपती कुमारी सिंहले बताईन् ।



