नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, र नेकपा एकिकृत समाजबादीका नेताहरु समेटेर मन्त्रिपरिषद विस्तार गरेका थिए । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शितल निवासमा आयोजति समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना, राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना र नेकपा एकिकृत समाजबादीका २ जना गरी मन्त्रिपरिषद २० सदस्यीय भएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा पुनर्गठित मन्त्रिमण्डलमा एमालेका उपमहासचिव रघुवीर महासेठ, माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री नियुक्त भएका छन्। महासेठले भौतिक पूर्वाधार, श्रेष्ठले परराष्ट्र र लामिछानेले गृह मन्त्रालयको विभागीय जिम्मेवारी पाएका छन् ।
एमालेबाट हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, राजेन्द्र राई खानेपानी, दामोदर भण्डारी उद्योगमन्त्रीको जिम्मेवारीमा पुगेका छन्। ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी विकास र बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पाएका छन् ।
माओवादीबाट वर्षमान पुनले अर्थ मन्त्रीको जिम्मेवारी पाएका छन्। यस्तै शक्ति बस्नेत ऊर्जा र रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारीमा दोहोरिएका छन् ।
रास्वपाका विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय हाँक्न पुगेका छन् । एकीकृत समाजवादीबाट भानुभक्त जोशीले संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढाले सहरी विकास मन्त्रालयको नेतृत्व पाएका छन् ।
सोमबार मात्र एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले बिनाविभागीय मन्त्रीको शपथ लिएका थिए । यीमध्ये गिरीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको नेतृत्व पाएका छन् भने हितबहादुर तामाङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी पाएका छन्। डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा फर्किएका छन् ।



