धनराज विक (अविरल) अप्रिल २० (युरोप)
युरोपको माल्टामा नेपाली झल्को दिने अर्याल दाजुभाइले नमस्ते नेपाल मिनि मार्केटको शाखा खोलेका छन् । माल्टाको राजधानी नजिकै रहेको हाम्रुन सहरमा नेपालको गुल्मी घरभएका बाबु अर्याल र भुवन अर्याल दुई दाजुभाइले नमस्ते नेपाल मिनि मार्केटको शाखा खोलेका हुन् ।
अप्रिल १६ तारीखका दिन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स)ले रिबन काटेर नमस्ते नेपाल मिनि मार्केटको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा सहभागी भएकाहरुले नेपालकै झल्कोदिने गरी मिनि मार्केट सजिसजावट गरिएको बताएका छन् ।
मिनि मार्केटको अगाडी नेपालको राष्ट्रिय झण्डा फरफराई रहेको थियो । उद्घाटनमा आएका अतिथि पाहुनाहरुलाई बाबु अर्याल र उहाँकी श्रीमती बिन्दु अर्यालले गलामा खादा,निधारमा रातो अक्षता र शीरमा नेपाली ढाँकाटोपी लगाई स्वागत तथा सम्मान गरेको दृश्यले आत्मियता झल्काई रहेको थियो । युुरोपमा नेपाली संस्कृतिको संरक्षण गर्दै राष्ट्रिय झण्डाको साथमा व्यवसायको उद्घाटन र कार्यक्रम आयोजना गर्नु देशलाई सम्मान गर्नु हो भन्दै नेपालीहरु एकआपसमा कुरागरी रहेका थिए ।
नमस्ते नेपाल मिनि मार्केटको औपचारिक रुपमा उद्घाटन गरेपछि एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनालले शुभकामना मन्तव्य दिदै नमस्ते नेपाल मिनि मार्केटले नेपालको खाद्यान्न सामानको माल्टामा प्रवद्धन गर्दै आएको बताए । नेपाली चाडपर्वको समयमा नेपालीको चाहना अनुसार आवश्यक सामानहरु नेपालबाट ल्याएर उपलब्ध गराउँदै आएको उनले बताए ।
मानवीय सहयोग गर्ने हेतुले माल्टामा हेल्पलाईन संचालन गर्दै आएका हेल्पलाईनका संयोजक डीएस राणाले बाबु अर्याल र भुवन अर्याल दुबै दाजुभाइ सामाजिक र व्यवसायिक रपमा अग्रसर हुँदै आएको बताए । नेपालीले विदेशमा व्यवसाय सुरुवात गरी सफलभई शाखा विस्तार गर्नु भनेको सबै नेपालीको लागि खुसीको विषय भएको उनले बताए ।
उद्घाटन कार्यक्रममा उपस्थित भएका पत्रकार अशिम लोपचन तामाङले अर्याल परिवाररले गरेको स्वागत र मार्केटमा नेपाली सामानहरु देखेर नेपालमै भएको महसुस गरेको बताए । युरोपजस्तो ठाउँमा नेपालीको व्यवसाय फस्टाएको देख्दा सहभागी सबै खुसी भएका थिए । माल्टामा रहेका प्रवासी नेपालीलाई अर्याल दाजुभाइले समेटेर सामाजिक कार्यसमेत गर्न अब्बल भएको बताउँदै उहाँहरले सामाजिक र व्यवसायमा गरेको योगदानको सम्मान गर्दछु ।
४ वर्षअघि सामान्य लगानीबाट सुरुगरेको मिनि मार्केट नेपालीकै सहयोगमा फस्टाउदै गएको बाबु अर्यालले बताए । व्यवसायमा राम्रोहुँदै गएपछि हाम्रुन सहरमा बस्ने नेपालीको सजिलोको लागि नमस्ते नेपाल मिनि मार्केटको शाखा विस्तार गरेको भन्दै सहयोग गर्ने सबैलाई अर्याल दाजुभाइले धन्यवाद् दिएकाछन् । नेपाल लगायत यशियन देशका नागरिकले दैनिक जिवनमा उपभोग गर्ने सामाग्रीहरु उपलब्ध गराउँदै आएको उपलब्ध गराउँदै जाने उनले बताए ।
पसलमा सामानलिन आउने केही नेपालीहरु पैसा नभएको बेला आफूले लगाएको गहना राखेर आवश्यक सामानहरु दिनु भन्छन् । त्यतिबेला नेपालीको अवस्था देखेर नराम्रो लाग्ने गरेको र १४ वर्षअघि आफु माल्टामा आउँदा गरेको संघर्षका दिन सम्झेर समस्यामा परेका नेपालीहरुलाई सजिलै सामानहरु दिदै आएको बाबु अर्याल बताए ।
यसरी सामान लिएकाहरुले आफूसंग पैसा भएकोबेला दिएर सबैले इमानदारिता देखाएको उनी सम्झन्छन् । फरक प्रसङ्गमा उनले भने, “ माल्टामा विभन्नि संघसंस्थाले आयोजना गर्ने कार्यक्रममा निरन्तर सहयोग गर्दै आएको र अबदेखि नेपालमा अति विपन्न परिवार, दिनदुखी र असहायहरुलाई आम्दानीको केही हिस्सा मानविय र सामाजिक सेवामा सहयोग गर्ने हाम्रो परिवारमा सल्लाह भएको छ ।”
यसपटक भने फरक उद्येश्य राखेर हामीले मिनि मार्केटको शाखा खोलेका छौ । प्रवासमा कामगर्न आएका नेपाल लगायत अन्य देशका नागरिकहरु काममा धेरै व्यस्त रहने र उनीहरुको व्यस्ततामा समयको सदुपयोग संगै सहजताहोस् भन्नका लागि (होम डेलिभरी) कोठामै सामान पुगाउने गरी सेवासुरु गरेको भाइ भुवन अर्यालले बताए ।
माल्टामा रहेका नेपालीको माग अनुसार नेपालका मौलिक समानहरु कोदोको पिठो, फापरको पिठो, मस्ताङको चामल, सिन्की, नेपाली उत्पादन अचार नेपाली ढाँकाटोपी, राष्ट्रिय झष्डा र नेपाली पेयपदार्थ समेत नेपालबाट ल्याएको अर्यालले बताएका छन् । प्रवासी नेपालीको सहयोगले थप व्यवसाय र सामाजिक क्षेत्रमा कामगर्न उत्प्रेरणा मिलेको उनी बताउँछन् । श्रीमान बाबु अर्यालले ४ घण्टा मात्र सुतेर निकै मिहिनेत गरेर काम गर्ने गरेको श्रीमती बिन्दु अर्यालले बताइन् ।
छारोछोरीलाई स्कुल पुगाउने ल्याउने, आफ्नो नियमित काममा जाने, मिनि मार्केटको व्यवस्थापन गर्ने, घरपरिवार र सामाजिक कार्यमा समेत समय दिने गरेको अर्याल बताउँछिन् । श्रीमान र देवरको सफलतामा उहाँहरुको निकै कडा परिश्रमको भूमिका रहेको उनी बताउँछिन् ।
नमस्ते नेपाल मिनि मार्केटको शाखा हाम्रुनमा संचालन भएपछि हाम्रुनमा बस्ने नेपालीहरु खुसी भएको सुदूरपश्चिम सेवा समाज माल्टाका महासचिब शिशिर जनालले बताए । रोजगारीको शिलशिलामा ६ वर्षदेखि हाम्रुन सहरमा बस्दै आएका जनालले आफूलाई मार्केटको उद्घाटनमा निमन्त्रणा आएपनि जान नपाएको बताए । समाजसेवा र व्यवसायीक क्षेत्रमा स्थापित भएर अग्रसर हुँदै आएका अर्याल दाजुभाइले माल्टामा धेरै राम्रो कामगर्दै आएको र उहाँहरुको सामाजिक योगदान प्रशंसा योग्य रहेको उनले बताएकाछन् । अर्याल दाजुभाई व्यवसायमा मात्र नभई सामाजिक कार्यमा पनि सफलहुँदै गएकाछन् ।
दुबैजना दाजभाइले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाको अध्यक्षको सफल कार्यकाल सम्हाली सकेकाछन् । दाजु बाबु अर्याल गैर आवासीय नेपाली संघको केन्द्रिय सदस्य समेत भइसकेकाछन् भने हाल उनी एनआरएनए माल्टाको सल्लाहकारको भूमिकामा र प्रवासी नेपाली मञ्चको भर्खरै सम्पन्न भएको अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएकाछन् । भाई भुवन अर्यालले एनआरएनको युरोप क्षेत्रिय सचिवमा समेत रहेर कामगरी सकेका छन् ।
माल्टाको एमसिदा सहरमा विगत ४ वर्षदेखि नमस्ते नेपाल मिनि मार्केट संचालन गरी व्यवसाय गर्दै आएका अर्यालले ४ जना नेपालीलाई रोजगार समेत दिएकाछन् । अर्याल दाजुभाई सामाजिक र मानविय काममा समेत अग्रसर हुँदै आएको सुदूरपश्चिम सेवा समाज माल्टाका कोषाध्यक्ष दिनेश नागरीेले बताए ।
माल्टामा सामाजिक र व्यवसायीक रुपमा सफल हुँदै गएका दाजुभाइको व्यवहार सहयोगी र मिजासिलो रहेको भन्दै नेपाली समानहरु पाईने माल्टमा अर्याल दाजुभाईले खोलेको पहिलो मिनि मार्केट भएको उनले बताए । माल्टामा अर्याल दाजुभाई आफ्ना असलकर्म र मिजासिलो व्यवहारले लोकप्रिय बन्दै गएको नागरी बताउँछन् । आफू नियमित सेवाग्राही भएको बताउँदै नेपालको पाल्पा घर भएका लालबहादुर ढेंगाले नेपालका मौलिक सामाग्रीहरु पाइने भएकोले विदेशमा पनि नेपालकै झल्को आउने गरेको बताए ।
कोदोको पिठो किनेर नेपाली ढिडो बनाएर खाएको सम्झदै अर्याल दाजुभाइले युरोपमा नेपाली समानहरु ल्याउनु नै ठूलो काम भएको बताउँदै उनले सफलताको शुभकामना दिए । नेपाली सामानहरु माल्टामा उपलब्ध गराई नमस्ते नेपाल मिनि मार्केटका संचालक बाबु अर्यालले राम्रो काम गरेको कैलालीका तपेन्द्र परियारले बताए । उनले भने, “नेपाली चाडपर्वको बेलाहोस या अन्य समयमा आवश्यक सामानहरु किन्न अर्यालको मार्केटमा जाँदा आफू नेपालमै छु जस्तो लाग्यो ।” उहाँको कोठामापुग्दा अर्याल दाजुभाइले सामाजिक योगदान गरेवापत पाएका भित्तामा टाँसेर राखिएका सम्मानपत्रले सामाजिक योगदान झल्काउने गरेको उनी बताउँछन् ।
कैलालीकै अत्तरिया घर भएका यमन रोकायाले बाबु अर्याल धेरै सहयोगी व्यक्ति भएको बताए । एकजना दाइले म काम नपाएर खाली बसेको जानकारी गराएपछि बाबु अर्याल सरले आफै फोन सम्पर्कगरी मलाई र एकजना काठमाडौंका दाइलाई आफ्नै गाडीमा संगै राखेर एउटा कम्पनीमा लगेर काम खोजीदिनु भएको उनले सम्झिए । नचिनेको मान्छेलाई पनि उहाँले गरेको मानविय सेवाको भावना देखेर यस्ता मनकारी व्यक्ति विदेशमा भेटिएकोले धेरै खुसी लागेको रोकायाले बताए ।
त्यसैगरी अछाम घर भएका कमल पुरकोटीले पसलको अगाडी नेपाली राष्ट्रिय झण्डा फरफराई रहेको देख्दा देश सम्झेर मन भावुक हुनेभन्दै सामान किन्नजाँदा पहिले नेपाली झण्डाको नजिकै उभिएर फोटा खिचाएको पुरकोटीले बताए । विदेशमा नेपालको झल्को दिने नमस्ते नेपाल मिनि मार्केटमा आफूले खोजेको नेपाली उत्पादनका सामानहरु पाइने गरेको उनी बताउँछन् ।
विगत ४ वर्षदेखि नमस्ते नेपाल मिनि मार्केटमा कामगर्दै आएकी नेपाल धरान घर भएकी प्रभा राईले विदेशमा पनि अर्याल दाजुभाइले खोलेको मार्केटमा कामगर्न पाउँदा खुसी लागेको भन्दै नेपालमै छु जस्तो लाग्ने गरेकोे बताइन् । कामदारको जस्तो व्यवहार नगरेर परिवारकै सदस्य जस्तो व्यवहार आफूमाथि गर्ने गरेको उनी बताउँछिन् ।
दुईवर्ष देखि सोही मार्केटमा कामगर्दे आएका बुटवलका सुरज दराईले अर्याल दाजुभाइले कामगर्न अवसर दिएकोमा धन्यवाद् दिदै उनका परिवारको व्यवहार प्रशंसा योग्य रहेको बताए । उद्घाटन कार्यक्रममा एनआरएनएका वरिष्ठ उपाध्यक्ष मधु गुरुङ, उपाध्यक्ष सत्यनारायण झा, उपाध्यक्ष पे्रम लिम्बु, कोषाध्यक्ष निरज श्रेष्ठ, सेफ सोसाइटी माल्टाका संयोजक बासुदेव भुसाल, झापा समाज माल्टाका अध्यक्ष मुक्ति पुरी र रोयल दरबार रेष्टुरेन्टका संचालक उदय श्रेष्ठ लगागतको सहभागिता रहेको कार्यक्रमको संचालन लक्षु गरीले गरेका थिए ।



