धनराज विक (अविरल) अप्रिल २५ (युरोप)
युरोपको माल्टामा नमस्ते नेपाल मिनि मार्केटले नेपाललाई चिनाउँदै आएको छ । नेपालको गुल्मी घरभएका बाबु अर्याल र भुवन अर्याल दुई दाजुभाइले संचालन गरेको नमस्ते नेपाल मिनि मार्केटले नेपाली सामानको व्यवसाय गरेर नेपाललाई चिनाउँदै आएका हो । देश छोडेर रोजगारीको सिलसिलामा माल्टामा आएका नेपालीहरुले आफ्नो देशको मौलिक सामानहरु विदेशमा पाउँदा निकै खुसी लागेको बताएका छन् ।
माल्टाको एमसिदा सहरमा ४ वर्षअघि नमस्ते नेपाल मिनि मार्केट संचालन भएको थियो । सामान्य लगानीबाट सुरुगरेको मिनि मार्केटको व्यवसाय फस्टाउदै गएपछि हाम्रुन सहरमा बस्ने नेपालीको सजिलोको लागि नमस्ते नेपाल मिनि मार्केटको शाखा विस्तार गरेको मार्केटका संचालक बाबु अर्यालले बताए । नेपाली ग्राहकमात्र नभएर माल्टा लगायत अन्य देशका विदेशी नागरिकहरु मार्केटमा किनमेल गर्न आउने गरेको र नेपाली सामानहरु उनीहरुको रोजाईमा पर्ने गरेको अर्याल बताउँछन् ।
अर्याल दाजुभाइले खोलेको मार्केटको अगाडी नेपालको राष्ट्रिय झण्डामा सडकमा आवतजावत गर्ने सबैको ध्यान जान्छ र एकआपसमा कुरागर्दै नेपालको झल्को आउने गरेको नेपालीहरु बताउँछन । कोही झण्डाको अगाडी फोटा खिचाउँछन त कोही आफूलाई दैनिक आवश्यक पर्ने सामानहरु खरिद गर्ने गरेको बिन्दु अर्यालले बताइन् ।
अछाम घर भएका कमल पुरकोटीले पसलको अगाडी नेपाली राष्ट्रिय झण्डा फर्फराई रहेको देख्दा सामान किन्नुभन्दा पहिले आफूले झण्डामा उभिएर फोटा खिचेको बताए । मार्केटमा सामान किन्न गएकोबेला पसलभरी नेपाली समानहरु देख्दा निकै खुसी लागेको भन्दै युरोपमा नेपाली सामानको व्यवसाय गरेर अर्याल दाजुभाइले नेपाललाई चिनाउने महत्वपूर्ण काम गरेको पुरकोटीले बताए ।
अप्रिल १६ तारीखका दिन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स)ले रिबन काटेर नमस्ते नेपाल मिनि मार्केटको शाखा उद्घाटन गरे । शभकामना मन्तव्य दिदै खनालले नमस्ते नेपाल मिनि मार्केटले नेपाली सामानको माल्टामा प्रवद्धन गर्दै आएको बताए ।
उद्घाटन कार्यक्रममा आएका अतिथि पाहुनालाई अर्याल परिवारले गलामा खादा, निधारमा रातो अक्षता र शीरमा नेपाली ढाँकाटोपी लगाई सम्मान गरेका थिए । नेपाली संस्कृतिको संरक्षण गर्दै राष्ट्रिय झण्डाको साथमा नेपाली व्यवसायको उद्घाटनले देशप्रतिको प्रेम झल्किएको र माल्टामा नेपाल चिनाउँदै देशको पहिचान दिने काम भएको सहभागीहरु बताइरहेका रहेका थिए ।
मानवीय सहयोग गर्ने हेतुले माल्टामा हेल्पलाईन संचालन गर्दै आएका हेल्पलाईनका संयोजक डीएस राणाले बाबु अर्याल र भुवन अर्याल दुबै दाजुभाइ सामाजिक र व्यवसायिक रपमा अग्रसर हुँदै आएको बताए । विदेशमा व्यवसाय सुरुवात गरी शाखा विस्तार गर्नु सफलता हो भन्दै नेपालीको लागि खुसीको विषय भएको राणाले बताए ।
यसपटक फरक उद्येश्य राखेर हामीले मिनि मार्केटको शाखा खोलेका छौ । प्रवासमा कामगर्न आएकाहरु धेरै व्यस्त रहने र उनीहरुको सहजताहको लागि (होम डेलिभरी) कोठामै सामान पुगाउने गरी सेवासुरु गरेको भाइ भुवन अर्यालले बताए । नेपालीको माग अनुसार नेपालका मौलिक समानहरु कोदोको पिठो, फापरको पिठो, मस्ताङको चामल,जुम्लाको मार्सि चामल, थकाली मुस्ताङ दाल, मकैको च्याख्ला, सातु, आलु निम्ली, पापड, नेपाली चिउरा, पानीपुरी, सिन्की, सिमिको दाल, सुकुटी, नेपाली उत्पादन अचार नेपाली खकुरी, नेपाली ढाँकाटोपी र राष्ट्रिय झण्डा, खादा, दोसल्ला र ब्याच लगायतका सामानहरु उपलब्ध गराउँदै आएको बावु अर्यालले बताए ।
नमस्ते नेपाल मिनि मार्केटको शाखा हाम्रुनमा संचालन भएपछि हाम्रुनमा बस्ने नेपालीहरु खुसी भएको सुदूरपश्चिम सेवा समाज माल्टाका महासचिब शिशिर जनालले बताए । रोजगारीको शिलशिलामा ६ वर्षदेखि हाम्रुन सहरमा बस्दै आएका जनालले समाजसेवा र व्यवसायीक क्षेत्रमा स्थापित भएर सफलहुँदै आएका अर्याल दाजुभाइले माल्टामा धेरै राम्रो कामगर्दै आएको र उहाँहरुको सामाजिक योगदान प्रशंसा योग्य रहेको उनले बताएकाछन् ।
अर्याल दाजुभाई व्यवसायमा मात्र नभई सामाजिक कार्यमापनि सफलहुँदै गएकाछन् । दुबैजना दाजभाइले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाको अध्यक्षको सफल कार्यकाल सम्हाली सकेकाछन् । दाजु बाबु अर्याल गैर आवासीय नेपाली संघको केन्द्रिय सदस्य समेत भइसकेकाछन् भने हाल उनी एनआरएनए माल्टाको सल्लाहकारको भूमिकामा र प्रवासी नेपाली मञ्चको भर्खरै सम्पन्न भएको अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएकाछन् । भाई भुवन अर्यालले एनआरएनको युरोप क्षेत्रिय सचिवमा समेत रहेर कामगरी सकेकाछन् ।
श्रीमान बाबु अर्यालले ४ घण्टामात्र सुती निकैकडा मिहिनेत गरेर संघर्ष गर्दै आएको बिन्दु अर्यालले बताइन् । श्रीमान र देवरबावु भुवन अर्यालको सामाजिक र व्यवसायीक सफलतामा उहाँहरुको परिश्रमको भूमिका धेरै महत्वपूर्ण रहेको उनी बताउँछन् । व्यवसायमा सहयोग गर्दै उत्प्रेरणा दिने सेवाग्राहीलाई उनले धन्यवाद् समेत दिएकी छन् ।
नेपाली सामानहरु माल्टामा उपलब्ध गराई नमस्ते नेपाल मिनि मार्केटका संचालक बाबु अर्यालले राम्रो काम गरेको कैलालीका तपेन्द्र परियारले बताए । अर्याल दाजुभाइले सामाजिक योगदान गरेवापत पाएका भित्तामा टाँसेर राखिएका सम्मानपत्रले व्यवसायको सफलता संगै उहाँहरुको सामाजिक योगदान समेत झल्काउने गरेको उनी बताउँछन् ।
विगत ४ वर्षदेखि नमस्ते नेपाल मिनि मार्केटमा कामगर्दै आएकी नेपाल धरान घर भएकी प्रभा राईले विदेशमा पनि अर्याल दाजुभाइले खोलेको मार्केटमा कामगर्न पाउँदा खुसी लागेको बताइन् । कामदारको जस्तो व्यवहार नगरेर अर्याल परिवारले आफूमाथि परिवारका सदस्य जस्तै व्यवहार गर्ने गरेको उनी बताउँछिन् ।



