धनराज विक (अविरल) अप्रिल २५ युरोप
आगलागी पीडितलाई सहयोग गर्न इस्मा गाउँपालिका गुल्मीले देश विदेशमा रहेका सबै नेपालीसंग अपिल गरेको छ । वैशाख ७ र ८ गते गाउँपालिकाको विभिन्न वडाको वनक्षेत्रमा भएको आगलागी बस्तीमा फैलिइ ठूलोक्षति भएकोले सहयोगकालागि पालिकाले अपिल गरेको हो । वनक्षेत्रबाट फैलिएको आगो बस्तीमा पुगेर कयौं घर एवम् गोठ पुशचौपाय, खाद्यान्न लुगाकपडा र खानेपानीका पाइप जलेर नष्ट भएका छन् ।
आगलागी पीडितको उद्धारका लागि गाउँपालिका लागिपरेको र यस्तो विपत्तिको बेला सहयोग आवश्यक परेकोले सहयोगका लागि सबैसंग अपिल गरिएको इस्मा गाउँपालिकाका अध्यक्ष भगत सिंह खड्काले बताए । आगलागीबाट घरबार बिहिन हुन पुगेका नागरिकका लागि खान तथा आवासको तत्काल व्यवस्था गर्नुपर्ने भएकाले वैशाख ९ गतेको गाउँपालिकाको निर्णयनुसार गाउँपालिकाको जनप्रतिनिधिबाट १ महिनाको पारिश्रर्मिक र सम्पूर्ण कर्मचारीबाट मासिक पारिश्रर्मिकको ५ प्रतिसत हुन आउने रकम आगलागी राहतकोषमा जम्मा गर्ने निर्णय गरेको पालिकाका उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले जानकारी दिएकी छन् ।
पहिलो चरणमा नागरिकको गास र कपासको समस्या आंशिक रुपमा समाधान भएको र सबै शक्ति वर्षा अगावै आवास निमार्णमा केन्द्रित रहको हुँदा क्रियाशील सबै राजनैतिक दल, संघसंस्था, युवाक्लब, देश विदेशमा रहेका व्यक्ति तथा स्थानीय नागरिक समेतलाई श्रमदान र आर्थिक सहयोगका लागि उनले अनुरोध गरेकी छन् ।
रोजगारीको सिलसिलामा युरोपको माल्टामा रहँदै आएका समिर थापाले मेरै गाउँपालिकाको वडा नम्बर १, २ र ४ मा भएको आगलागीबाट धेरै मानिसहरु बिचल्लीमा परेकोले निकै दुःख लागेको बताए ।
आगलागी पीडितका लागि सबैसंग मानविय सहयोग गर्न अनुरोध गर्दै गैर अवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टा, माल्टमा रहेका विभिन्न संघसंस्था र नेपालीहरुमा सकेजति मानवीय सहयोगका लागि थापाले अनुरोध गरेकाछन् ।



