मुक्त कमैया समाज नेपालको तेस्रो राष्ट्रिय सम्मेलन आज (शुक्रबार) देखि कैलालीको लम्कीमा सुरु हुदैछ । लम्कीचुहा नगरपालिका वडा नम्बर १ लम्की स्थित मुक्त कमैया एकता शिविरमा आयोजना हुन लागको सम्मेलनको तयारी पुरा भएको छ ।
सम्मेलनको एक भब्य समारोहका विच सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर स्वडारीले उद्घाटन गर्नुहुनेछ । बैशाख २१ र २२ गते २ दिन सम्म सञ्चालन हुने सम्मेलनमा उद्घाटन शत्रमा ५ हजार बढी मुक्त कमैयाहरुको सहभागिता रहने बताइएको छ । दोस्रो दिन हुने सम्मेलनको बन्दशस्त्रमा लुम्बिनीका बाँके, बर्दिया दाङ र सुदुरपश्चिमका कैलाली, कञ्चनपुर गरी ५ जिल्लाका ८५ जना बढी प्रतिनिधि तथा परिबेक्षकले भाग लिनेछन ।
दुई दिन सम्म सञ्चालन हुने सम्मेलको उद्घाटन सत्रमा थारु समुदायका बिभिन्न संस्कृति भेषभुषा झल्कीने झाकी पर्दशन गरिनेछ । अर्काे दिन समाजका बिभिन्न आर्थिक, सामाजिक र राजनितिक लगायत जनजिविकाका सवालमा गहन छलफलका साथै नयाँ नेतृत्व चयन गर्दै सम्मेलनको समापन गरीने मुक्त कमैया समाज नेपालका अध्यक्ष पशुपति चौधरीले बताउनु भयो । उहाँले भन्नु भयो “ मुक्त कमैया, कम्लरी र हलियाको व्यवस्थापनका लागि सुदुरपश्चिम सरकारले कार्यविधि पास गरेको छ ।
यसमा हामीले उठाई रहेको अधिकांस मागहरु समेटिएका छन । प्रदेश सरकारलाई धन्यबाद दिन्छौं । अब कार्यविधि कार्यन्वयनको लागि हाम्रो पहल हुन्छ ।” “मुक्त कमैया समाजले कमैयाहरुको जिविकोपार्जन, आयआर्जन, रोजगारीका साथै सुरक्षा र अधिकारको सवालमा तिनै वटै तहका सरकार संग पैरवी गर्ने, समन्वय गर्ने काम गरी रहेको छ अध्यक्ष चौधरीले भन्नु भयो ।” पुस्तौंदेखि बँधुवा मजदुरसरह जीवन बिताउँदै आएका कमैयालाई तत्तकालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०५७ साल साउन २ गते मुक्त घोषणा गरेको थियो ।
मुक्त घोषणा गरेको २३ बर्ष पुग्दा पुर्णरुपमा व्यावस्थापन गर्न नसकेपनी ९० प्रतिशत मुक्त कमैयाको व्यवस्थापन भएको अधिकारकर्मी एवम् अधिवक्ता बालाराम भट्टराई बताउनु हुन्छ । “पहिलो उपलब्धी मुक्त कमैयाहरुको लागि स्वतन्त्र हुनुनै हो । साहुमहार्जनको ऋण मिनाहा हुनु, जमिनको स्वमित्व पाउनु, राज्यका निकाय संग पहुचँ पुग्नु कमैया मुक्ति पछीका उपलब्धी हुन अधिवक्ता भट्टराई भन्नुहुन्छ ।” अधिकाशं मुक्त कमैयाको नाममा जग्गा नापी भएको तर लालपुर्जाको मालपोतमा अभिलेख नभएको, केहीको तथ्याकं संकलनको क्रममा नाम छुटेकाहरुलाई परिचयपत्र उपलब्ध गराउनु पर्ने, मुक्त कमैया र कम्लरीहरुको रोजगारीको ग्यारेन्टी जस्ता कुराहरुलाई अब समाधानको बाटो तर्फ लैजानु पर्ने अधिवक्ता भट्टराई बताउनु हुन्छ ।
मुक्त कमैया समाजका अध्यक्ष पशुपति चौधरीका अनुसार कैलालीमा अझै एक हजार पाँच सय र कञ्चनपुरमा सात सय छुट मुक्त कमैया रहेका छन् । छुट भएका मुक्त कमैयाको लगत सङ्कलन र प्रमाणीकरण बाँकी रहेको उहाँले बताउनु भयो ।
लुम्बिनी र सुदुरपश्चिम प्रदेशका ५ जिल्लामा ३२ हजार ५ सय ९ घरपरिवार मुक्त कमैया रहेका छन । जसमा २७ हजार ५ सय ७० घरपरिवारको पुनःथापना गर्नु पर्ने र ४ हजार ९ सय ३९ जना घरपरिवारको थोरै जग्गा अभिलेखमा भएपनी मुक्त कमैयाले पाउने अन्य कुनै सेवा सुविधा पाउन सकेका छैनन । २५ हजार १ सय ९५ घर परिवारले ५ धुर देखि १० कठ्ठा सम्म जग्गाको लालपुर्जा पाएका छन ।
६ सय ६१ घरपरिवारको हातमा जग्गा पुर्जा भएपनी जग्गा भने कहाँ छ थाहा नभएको अध्यक्ष चौधरी बताउनुहुन्छ । १ सय ७३ घरपरिवारको लगत बाट नाम हटाएको र २ हजार ३ सय ७५ घरपरिवारलाई पुनःथापना गर्न बाँकी रहेको छ ।



