नेपाली कांग्रेस घोडाघोडी नगर कार्य समितिले नेपाली कांग्रेस कैलालीका उपसभापति एवम् लोकप्रिय नेता भीम बडुवाललाई नेपाली कांग्रेस कैलालीका सभापति नारायण दत्त भट्टको एकलौटी निर्णयद्वारा राजनीतिक पुर्वाग्रही राखी विना कारण कार्वाहीका लागि केन्द्रीय अनुशासन समितिमा सिफारिस गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नगर सभापति बम बहादुर सिंहले विज्ञप्ति जारी गर्दै कार्वाही प्रक्रिया अपमानजनक भएको र व्यक्तिगत पुर्वाग्रह राखिएको देखिएकाले कार्वाही फिर्ता गरि पार्टी भित्र एकता , सहमति , सहकार्य गरेर अघि बढ्न भनेर विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपाली कांग्रेस घोडाघोडी नगर कार्य समितिको बैठक जेठ १७ गते बिहीबार बसेर यस्तो निर्णय गरिएको हो । कार्वाही प्रक्रिया फिर्ता नलिएसम्म वडादेखि नगरसम्मको सम्मेलन स्थगित गर्ने निर्णय गरिएको छ ।
यसभन्दा पहिले समेत जिल्ला सभापतिले उपसभापतिलाई कार्वाही गरेको छु भन्दै पार्टीका बैठकमा उपसभापतिको नाम उल्लेख गर्ने गरेका थिएनन् । गत फागुन १७ गते चोसेकाँडामा राखिएको बैठकमा समेत सभापति र उपसभापतिबीच माइन्युट खोसाखोसको अवस्था सृजना भएर विवाद हुँदा बैठक स्थगित भएको थियो ।



