देवानन्द न्यौपाने लम्की/ साउन ४
नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखाको आयोजनामा जुनियर तथा युवा रेडक्रस सर्कलका पदाधिकारीहरुका लागि विपद सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम आज शनिबार कैलालीको नारायणपुरमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाद्वारा संचालित विपद जोखिम व्यवस्थापनमा सबलताका लागि सहकार्य कार्यक्रमको सहयोगमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखाका सभापति धनसरी कुमारी कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा नारायणपुर उपशाखा अन्तर्गत रहेका ३ युवा रेडक्रस सर्कलका ३३ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्ला सदस्य एवम् जुनियर युवा रेडक्रस समिति कैलालीका संयोजक रंगप्रसाद तिमिल्सैनाले जुनियर युवा रेडक्रसको बारेमा जुनियर युवा रेडक्रस सर्कलको काम कर्तव्य र अधिकार तथा गठन प्रक्रियाका बारेमा सहजीकरण गर्नुभएको थियो भने विपद व्यवस्थापनका विषयमा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाद्वारा संचालित विपद जोखिम व्यवस्थापनमा सबलताका लागि सहकार्य कार्यक्रमका कार्यक्रम अधिकृत मुकेशचन्द गौतम र पालिका सहायक प्रकाश डाङीले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका उपसभापति जगदिश्वर पण्डित , जिल्ला कार्यसमिति सदस्य टोप बहादुर केसी, युवा रेडक्रस सर्कल राष्ट्रिय मावि नारायणपुरका शिक्षक नायक राजाराम चौधरी लगायतका वक्ताहरुले मन्तव्य राख्नुभएको थियो ।
त्यसैगरी कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशका सचिव पुर्ण नायक, सदस्य शैलेश कुमार श्रेष्ठ , सदस्य नृप कडायत, सदस्य रवि रोका, पालिका सहायक तपेन्द्र तिमिल्सेना लगायतकाको सहभागिता रहेको थियो ।



