सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण गर्न चारवटा आधार तय गरेको छ। चालू आर्थिक वर्षको बजेट निर्माणमा जुटेको प्रदेश सरकारले बजेट निर्माणका चारवटा आधार तय गरेको हो।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज (सोमबार) सरकारका मन्त्रीहरूलाई राखेर पत्रकार सम्मेलन गर्दै बजेट निर्माणका चारवटा आधार तय गरेर घोषणा गरेका छन्। मुख्यमन्त्री शाहले विज्ञप्ति नै जारी गरेर प्रदेश सरकारले २५ लाख भन्दामाथि सिलिङ कायम गरी बजेट विनियोजन गर्ने जनाएको छ।
आवश्यकता र आौचित्यको आधारमा २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भएमा कार्य योजनासहित सशर्त अनुदानको रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने भएको छ।
प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने जारी विज्ञप्तिमा उल्लेख छ। साथै प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत गरिने आधार तय भएको मुख्यमन्त्री शाहले बताए।
यसअघिका सरकारले व्यक्ति, समूह ,संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई तोकेर बजेट विनियोजन गर्दै आएका थिए।



