चन्द्र प्रसाद खनाल , लम्की असोज २९
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले मुक्त कमैया , कमलरी , हलिया प्रथाको अन्त्य गर्ने नेतृत्वको भुमिका नेपाली कांग्रेसका सभापति एवम् पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नै गरेको बताउनु भएको छ । कैलालीको लम्कीमा सोमबार आयोजित परिवर्तनका लागि युवा सञ्जालको प्रथम अधिवेशन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले हलिया , मुक्त कमैया कमलरीको अन्त्य गर्ने व्यक्तित्व पुर्व प्रधानमन्त्री देउवाले नै गरेका हुन भन्ने कुराहरू सबैले भन्न सक्नुपर्ने दाबी गर्नुभयो ।
हलिया , मुक्त कमैया कमलरीको विषयमा यसअघि बनेको सुदूरपश्चिम प्रदेश सरकारले ७ वर्षसम्म केही पनि नगरे बताउँदै मुख्यमन्त्री शाहले यसभन्दा पहिलेका प्रतिनिधिहरूलाई प्रश्न गर्न सक्नुपर्ने र आफ्नो नेतृत्वमा बनेको सरकारले कार्यविधि बनाएर सदनमा पास गरेको बताए । हलिया , मुक्त कमैया कमलरीको विषयमा गरिएको प्रतिवेदन पासका सन्दर्भमा गर्वका साथ भन्नसक्नु पर्ने धारणा व्यक्त गर्नुभएको छ ।
यसअघिको सरकारले निजामतीका विषयमा ७ वर्षसम्म कुनै काम नगरेको र सुदूरपश्चिम प्रदेशले निजामती सेवाका सन्दर्भमा आफ्नो पहिलो कार्यकालमा निजामती सेवा दिवसका दिन बोलेका कुराहरू सम्पूर्ण प्रक्रिया पुरा गरेर सदनमा गएर न्याय समितिमा गएको , बीचको समय ३/४ महिना आफू सरकारमा नहुँदा रोकिएको र फेरि अहिले अगाडि बढेको बताउँदै मुख्यमन्त्री शाहले थारू , रानालाई कति प्रतिशत दिने भन्ने विषयमा छलफल भइरहेको र उक्त प्रक्रिया पनि चाँडै टुंगिने बताएका छन् ।
चौधरी समुदायमा रहेको बडघर , भलमन्साका विषयमा आफ्नो नेतृत्वको सरकारले संरक्षण गर्न र कानुनी मान्यता दिनका लागि चौधरी समुदायका अगुवा , बडघर , भलमन्सासँग छलफल गरेर ऐन ल्याइएको र उक्त ऐन चाडैं नै सदनबाट पारित भएर आउने विश्वास दिलाएका छन् ।
आफ्नो नेतृत्वमा बनेको प्रदेश सरकारले चौधरी समुदायका पक्षमा धेरै कामहरू गरेको ठोकुवा गरे ।थारू समुदायको मरुवा लागि क्षेत्र नं २ मा २ करोड ३० लाख बजेट बिनियोजन गरिएको बताए । मुख्यमन्त्री शाहले थारू समुदायको अन्धी धान , मिडा भेडा प्रबर्द्धन ,चैते धान बसन्ते मकै ,बेमौसमी तरकारी , डिप बोरिङ , स्यालो ट्युबवेल , कृषि हरितगृह निर्माण , बडघर भलमन्सा क्षमता अभिवृद्धि कार्यक्रमका लागि आत्मनिर्भर हुने कार्यक्रम प्रदेश सरकारले बजेटमा समेटेको बताएका छन् । 
यसै आर्थिक वर्षमा डुडेझारी औद्योगिक क्षेत्रका लागि प्रदेश सरकारले बजेट बिनियोजन गरेको र उक्त औद्योगिक क्षेत्र बनाउनका लागि जनप्रतिनिधिहरू , सबैको साथ सहयोग आवश्यक रहेको बताए । यदि औद्योगिक क्षेत्र बनेको खण्डमा यो क्षेत्रको कायापलट हुने र विकास हुने मुख्यमन्त्री शाहले बताएका छन् ।
मुख्यमन्त्री शाहले युवाहरूको सशक्तीकरणका लागि सुदूरपश्चिम प्रदेशको पहिलो सहिद युवा लोकराज ढकाल स्मृति प्रतिष्ठानका लागि ५० लाख बजेट छुट्टयाइएको बताउँदै उक्त कार्यक्रममार्फत युवाहरूलाई जोड्न खोजिएको धारणा व्यक्त गरेका छन् । परिवर्तनका लागि युवा संजालले युवाहरूको हकहितका लागि काम गर्ने विश्वास व्यक्त गरेका छन् । गाउँ घरमा भएका समस्याहरू , राज्यलाई खबरदारी , सचेत गराउँदै समस्या समाधान तर्फ अगाडि बढोस् भनेर शुभकामना व्यक्त गरेका छन् ।



